जन सरोकार

त्रिविबाट ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित

मुलुकको सबभन्दा ठूलो र जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा सो संख्यामा विद्यार्थीहरु दीक्षित भएका हुन् ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिनुभएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् ।

समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । समारोहमा सेन्टर युनिभर्सिटी अफ पञ्जाब भारतका पूर्वउपकूलपति राघवेन्द्र पी तिवारी प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

हाल देशका ७७ मध्ये ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयका एक सय १२ वटा आंगिक क्याम्पस रहेका छन् । उपकुलपति बास्कोटाले ५० वर्ष पुराना भौतिक संरचनालाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको भएतापनि अहिलेसम्म पुनःनिर्माणका कुनै पनि काम नभएकोमा नैराश्यता थपिएको बताउनुभयो ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको बताउनुभएको हो ।

“त्रिभुवन विश्वविद्यालयले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “ नेपालमा उच्च शिक्षा प्रवद्र्धन र विकासमा मुलुककै जेठो तथा अग्रणी विश्वविद्यालयको रुपमा रहेको यस विश्वविद्यालयले पुर्याएको योगदान हामी सबैका सामु जगजाहेर छ ।

आज मुलुकको राजनीतिक र प्रशासकीय नेतृत्व सम्हाल्ने अधिकांश जनशक्ति त्रिभुवन विश्वविद्यालयकै हुनुहुन्छ । यस्तो महत्वपूर्ण शिक्षा प्रदान गर्ने विश्वविद्यालयबाट दीक्षित हुन पाउनु विद्यार्थी स्वयंमा पनि गौरवको विषय हो ।”

उहाँले यस विश्वविद्यालयबाट चिकित्साशास्त्र, इन्जिनियरिङ, भौतिक विज्ञान, व्यवस्थापनलगायतका विषयका क्याम्पस दक्षिण एसियाकै प्रतिष्ठितमा पर्ने बताउनुभएको हो । उहाँले शैक्षिक प्रतिष्ठानको गुणस्तरलाई समयको पदचापसँगै अगाडि बढाउन आवश्यक रहेको समेत औँल्याउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.