राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बुधबारदेखि प्लेअफ चरणका खेलहरू हुँदैछन् । प्लेअफ अन्तर्गत एलिमिनेतर खेलमा लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्स भिड्दैछन् ।
खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । यस खेलमा पराजित हुने टिम बाहिरिन्छ भने विजेता टोलीले दोस्रो क्वालिफायर खेल्नु पर्नेछ ।
क्वालिफायर २ मा पुग्नका लागि चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल जित्ने टोलीले फाइनल पुग्न अन्तिम प्रतिस्पर्धाको मौका पाउने छ । पराजित टोली प्रतियोगितामा चौथो स्थानमा रहेर यात्रा अन्त गर्नेछ ।
लिग चरणमा चितवन र कर्णाली दुवैले ७ मध्ये समान ४ खेल जितेका थिए । ८ अंक जोडेपनि नेटरनरेटमा चितवन कर्णालीभन्दा अघि रहँदै तेस्रो भएको थियो ।
यसैगरी आजै दिउँसो १ बजे पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा दुवै टोलीको लक्ष्य भनेको फाइनल प्रवेशको लागि हुनेछ ।
सुदूरपश्चिम लिग चरणमा ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ खेल्दै छ भने जनकपुर ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्दै छ । यस खेलमा पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग खेल्नुपर्ने छ ।




प्रतिक्रिया राख्नुहोस्