कृषि

दैनिक एकलाख लिटर दूध अपुग, भारतबाट आयात गर्न अनुमति माग

नेपालमा किसानका दूध विक्री नभएर सडकमा पोख्नुपरेका दृश्यहरु सार्वजनिक भैरहेका बेला नेपालका डेरी उद्योगीले भने दूध अपुग भयो भन्दै भारतबाट आयात गर्न अनुमति मागेका छन् ।

दूध

नेपालका डेरी उद्योगीको छाता सङ्गठन डेरी उद्योग सङ्घले एक साताअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्र लेखी दैनिक एक लाख लिटर झोल दूध भारतबाट आयात गर्न अनुमति माग गरेको हो ।

कृषि मन्त्रालयले भारतलगायत देशबाट एसएनपी (धूलो दूध), बटर, घिउ आयातमा रोक लगाएको छ । त्यही भएर झोल दूध नै आयात गर्न पाउनुप–यो भनी मन्त्रालयसँग अनुमति माग गरेको सङ्घका अध्यक्ष राजकुमार दाहालले बताउनुभयो ।

दाहालले भन्नुभयो, “एसएनपी (धुलो दूध) आयात भएको भए त्यसैबाट काम चल्थ्यो तर सरकारले त्यसमा रोक लगाएका कारण झोल दूध नै ल्याउन दिनुपर्ने भनि एक साताअघि कृषि मन्त्रालयमा निवेदन दिएका हौँ । ”

कृषि मन्त्रालयले दूधको उत्पादन, आवश्यकतालगायतका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न राष्ट्रिय दुग्ध विकास बोर्डलाई निर्देशन दिएको छ । बोर्डले पुस १८ गते सोही विषयमा छलफल गर्नका लागि सरोकारवालालाई बोलाएको छ ।

संघका अध्यक्ष दाहालले अहिले दैनिक नौ लाख लिटर दूध उत्पादन हुन्छ । त्यसमध्ये आठ लाख खपत हुन्छ । बाँकी एक लाख लिटर दूधको कन्भर्जन (धुलो, बटर लगायतमा रूपान्तरण) गरिरहेको बताउँदै उहाँले लगभग एक लाख लिटर दूध अपुग भएको बताउनुभयो ।

भारतबाट ल्याउने एक लाख लिटर दूधको धूलो दूध बनाएर राख्ने डेरी उद्योगीको तयारी रहेको छ । यो समय बढी दूध उत्पादन समय (सिजन) हो । विगतमा यो समयमा बढी दूध भएर मिल्क होलिडे हुन्थ्यो तर यसपटक दूध कम उत्पादन भएर आफूहरूलाई समस्या भएको नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.