राजनीति

संसद विघटन संविधान विपरीत, कांग्रेस चुनावबाट भाग्न चाहँदैन :थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाली कांग्रेस चुनावबाट भाग्न नचाहेको बताउँदै यसो भन्दैमा सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उहाँले भन्नुभयो, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न सकिँदैन ।”

प्रदेशसभा सदस्य मोहम्मद याकुब अंसारी, बाँके कांग्रेसका अध्यक्ष किरण कोइराला, नगर समिति अध्यक्ष प्रशान्त विष्ट र रमेश गुप्ताले मुलुकको वर्तमान राजनीतिको विविध पक्षमाथि प्रकाश पार्नुभयो । यसैगरी सोमबार नै बाँकेको क्षेत्र नं १ को कोहलपुरमा र ३ को खजुरामा पनि कांग्रेसले विरोधमा प्रदर्शन गरेको छ ।

त्यस्तैनेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले मुलुकमा आउने जस्तोसुकै राजनीतिक परिस्थितिको सामना गर्न कांग्रेस तयार रहेको बताउनुभएको छ । कांग्रेस कञ्चनपुर निर्वाचत क्षेत्र नं ३ ले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको विरोध कार्यक्रममा उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीको घर झगडाका कारण प्रतिनिधिसभा विघटन हुन पुगेको छ ।”

नेता लेखकले सरकार सञ्चालनमा अन्तरसत्ता सङ्घर्षका कारण यहाँसम्मको स्थिति आइपुग्यो भन्दै दुई तिहाइ जनमत पाउँदा पनि मुलुकमा स्थिरता आउन नसकेको बताउनुभयो ।

यसैगरी कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा आयोजना गरेको विरोध कार्यक्रमम कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले कम्युनिष्ट पार्टीका कारण मुलुकको राजनीति गम्भीर अवस्थामा पुगेको बताउनुभयो । “सरकारले पाँच वर्षको कार्यकाललाई तीन वर्षमै टुङ्ग्याएर निर्वाचन घोषणा गरेको छ”, उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन भएन भने अवस्था जटिल हुन सक्छ ।”

सम्बन्धित खबर

Back to top button