माघ पहिलो साता मेलम्चीको पानी काठमाडौँ
खानेपानीमन्त्री महेन्द्रराय यादवले गत वर्षायामदेखि आपूर्ति रोकिएको मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउँदो माघ पहिलो सातादेखि ल्याइने बताउनुभएको छ ।
आयोजनाको मुहानस्थल अम्बाथानको शुक्रबार अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गर्नुभयो ।
उहाँले आयोजनाका स्थानीय भण्डार, सप्लायर्स लगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्रगतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताउनुभयो ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको जानकारी दिनुभयो ।
उहाँले अम्बाथानमा काम भइरहेको बताउनुभयो । “दैनिक १६÷१७ घण्टा काम भइरहेको छ”, उहाँले भन्नुभयो । दैनिक १७ करोड लिटरका दरले काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने सरकारको तयारी छ । क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने आयोजनाले जनाएको छ ।
मन्त्री यादवसँगै प्रदेशसभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका सदस्य विष्णुमणि आचार्यलगायतले आयोजनाको मुहानस्थलबारे जानकारी लिनुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्