चन्दा संकलन गरेर पीसीआर मेसिन जडान- सरकारी मेसिनको पत्तो छैन
कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा डडेल्धुरामा पिसिआर मेसिनको अभाव भएपछि चन्दा संकलन गरेर मेसिन खरीद गरी जडान गरिसक्दा सरकारले खरीद गरेको मेसिन अझै अझै पुगेको छैन ।
कोरोना परीक्षणमा समया भएपछि स्थानीयले मुलुकभित्र र बाहिर रहेका नेपालीले चन्दा संकलन गरेर पीसीआर मेसिन खरीद गरी डडेल्धुरा अस्पतालमा जडान गरेर नमूना परीक्षण समेत गरिएको छ ।
बुधवार मेसिन जडान गरेर नमुना परीक्षण गरिएको र बिहीबारबाट नियमित परीक्षण सुरु हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीश विष्टले जानकारी दिनुभएको छ । नागरिकले चन्दा संकलन गरेर खरिद गरेको पीसीआर मेसिनले दैनिक ९० जनाको कोरोना परीक्षण गर्न सक्ने छ ।
पीसीआर मेसिनको अभाव हुँदा यसअघि प्रदेशका सबै जिल्लाको स्वाब धनगढी पठाउने गरिएको थियो । धनगढीमा पनि चाप बढेपछि काठमाडौँ पठाउने गरिएको थियो । काठमाडौँमा स्वाब धेरै भएपछि रिपोर्ट आउन समय लाग्ने गरेकोमा अब डडेल्धुरामा अर्को मेसिन थपिएपछि केही सहज हुने अपेक्षा गरिएको छ ।
करिब ९६ लाख रुपैयाँमा स्थापना भएको पीसीआर मेसिन खरिद गर्न ह्युमानिटी फाउन्डेसनले चन्दा संकलन गरेकोे थियो । जनताको चन्दा संकलन, संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पहल र उनका स्वकीय सचिव हितेश ओझाको सक्रियताले डडेल्धुरामा पीसीआर मेसिन स्थापना भएको ह्युमानिटी फाउन्डेसनले जनाएको छ ।
नागरिकले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गरे पनि प्रदेश सरकारले यसअघि नै खरिद गर्ने भनेको पीसीआर मेसिन अझै जडान हुन सकेको छैन । प्रदेश सरकारले प्रदेशका ३ स्थानमा पीसीआर मेसिन जडान गर्ने निर्णय गरेको थियो । तर, निर्णय भएको ३ महिला पुग्नै लाग्दा पनि अझैसम्म पीसीआर मेसिन आउन सकेको छैन ।






प्रतिक्रिया राख्नुहोस्