जन सरोकार

निजी विद्यालयलाई गुठीमा जान बाध्य नपारिने

प्रमुख राजनीतिक दलका नेताहरुले निजी विद्यालयलाई सार्वजनिक गुठीको संरचनामा जान बाध्य नपारिने बताउनुभएको छ ।

निजी विद्यालयलाई गुठीमा जान बाध्य नपारिने

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन)को २६औँ स्थापना दिवसका अवसरमा शुक्रबार विद्यालय शिक्षा विधेयक र निजी विद्यालयको भूमिका विषयक छलफलमा उहाँहरुले संविधानमा शिक्षा र सम्पत्तिको हक रहेकाले ती दुवैको समायोजन हुने गरी निजी विद्यालयलाई व्यवस्थित गरिने बताउनुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निजी विद्यालय बन्द गरेर सामुदायिक विद्यालयको स्तर सुध्रन्छ भन्ने आफ्नो पार्टीको मान्यता नरहेको उल्लेख गर्दै सामुदायिक र निजी विद्यालय एकार्काका विरोधी नभई परिपूरक भएको स्पष्ट गर्नुभयो । पूर्वमन्त्री लेखकले संविधानको तीनखम्बे नीतिलाई अँगाल्दै मुलुकका योग्य नागरिक उत्पादन गर्ने विषय शिक्षाको केन्द्रविन्दु हुने बताउनुभयो ।

नेकपा (एमाले) का नेता एवं पूर्वसांसद विशाल भट्टराईले निजी विद्यालयलाई बेवास्ता गरेर कानुन बनाउन नसकिने तर नियमन भने गर्नुपर्ने बताउँदै गुठीमा जाने विषय बाध्यकारी नभई स्वेच्छिक गरिनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वशिक्षामन्त्री शिशिर खनालले हाल सञ्चालित निजी विद्यालयलाई २० वर्षपछि गुठीमा परिणत गर्ने गरी विधेयकमा आफूहरुले संशोधन गरेको जनाउँदै शिक्षा व्यापार नभई सेवा हो भन्ने सोचलाई आत्मसात गर्नुपर्नेमा जोड दिनभयो ।

नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले मुलुकमा सामुदायिक विद्यालयले शिक्षाको भार थेग्न नसकेको बेला सरकारकै स्वीकृति लिएर सञ्चालन गरिएका निजी विद्यालयलाई आयु तोकेर बन्द गर भनिनुले लगानीकर्तामा निरुत्साहन हुने र गुणस्तरीय शिक्षाको चाहना अधुरै रहनु हो भन्ने जिकिर गर्नुभयो । उहाँले विधेयकमा निजी विद्यालययको योगदानलाई अभिसाप नभई वरदानका रुपमा लिने गरी समावेश हुनुपर्ने माग गर्नुभयो ।

उक्त विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचारधीन छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.