शैक्षिक सत्र सुरु नहुँदै गाउँगाउँमा भित्रियो पाठ्यपुस्तक
चाहना राखेर इमानदारपूर्वक काम गर्ने हो भने हरेक काम समयमै सम्पन्न हुन्छन् भन्ने दृष्टान्त नयाँ शैक्षिकसत्र सुरु नहुँदै गाउँगाउँमा पुगेका पाठ्यपुस्तकले दिएको छ ।
पछिल्लो समय पूर्वी नेपालको पहाडी जिल्ला सङ्खुवासभामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक उपलब्ध गराएका हुन् ।
यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो ।
नयाँ शैक्षिक सत्र सुरु नहुँदै सङ्खुवासभाका ग्रामीण क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको बिक्रेताले जनाएका छन् । सङ्खुवासभा सदरमुकाम खाँदबारीका पुस्तक पसल व्यवसायीले सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण थालेको हो ।
सामूहिक लगानीमा बिक्री कक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालेको व्यवसायी कृष्ण भण्डारीले बताउनुभयो ।
हालसम्म ६० प्रतिशत बढी पाठ्यपुस्तक खरिद गरेर लगिसकेको व्यवसायी भण्डारीले बताउनुभयो । अन्य स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका भण्डारीको भनाइ छ ।
सङ्खुवासभामा प्रतिकक्षा दुई हजार पाँच सयका दरले पुस्तक आवश्यक पर्छ । सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको हो ।
विद्यालय सञ्चालन हुनुपहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने भएको छ । यस वर्ष जिल्लामा वैशाख १ गतेभित्रमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ ।
यसै गरी हुम्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेका छन् । जिल्लाका उत्तरी नाम्खा गाउँपालिकाको एउटा बाहेक सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् ।
जिल्लाका उत्तरी क्षेत्रका दुई सिमकोट र नाम्खा गाउँपालिकाका ३९ विद्यालयमध्ये नाम्खा–६ को लिमीमा रहेको सुनखानी आधारभूत विद्यालयबाहेक अन्य ३८ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्याएको रोकाया पुस्तक पसलका सञ्चालक ज्ञानबहादुर रोकायाले बताउनुभयो । कक्षा एकदेखि कक्षा १० सम्मका सबै सबै पुस्तक पुर्याएको उहाँले बताउनुभयो ।
उहाँले लिमीको सुनखानी विद्यालयमा पुर्याउन यतिबेला सडकमा हिउँ जमेर आवतजावत बन्द भएका कारण पाठ्यपुस्तक पुर्याउन नसकिएको बताउनुभयो ।
हुम्लाका चार गाउँपालिकाका विद्यालयका लागि ३६ हजार थान पुस्तक सप्लायर्सले बुझेर लिई जिल्लामा पुर्याएर बिक्रीसमेत गरेको जनाइएको छ । बाँकी तीन गाउँपालिकाका लागि केन्द्रको सुर्खेत डिपोबाट वितरण गरिएको थियो ।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले जिल्लामा कूल विद्यालयका २१ हजार ६८ विद्यार्थीको हात हातमा पुस्तक पुगेको जानकारी दिनुभयो । सबै कक्षाका विद्यार्थीलाई हातहातमा पुस्तक पुगेपछि पठनपाठनमा पनि सहज भएको छ ।
दुर्गम जिल्ला हुम्लामा गत वर्ष र यस वर्षको शैक्षिक सत्रमा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेका हुन् । समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीलाई पठनपाठनमा सहज हुने भएको छ । हुम्लाका विद्यालयमा गत फागुन ९ गते यता पढाइ सुरु हुन थालेको थियो ।





प्रतिक्रिया राख्नुहोस्