राजनीति

आप्रवासी कामदारकोे समस्याप्रति सरकार गम्भीर छ : मन्त्री भण्डारी

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बिहीबार नेपालका बहुपक्षीय संस्थाका पूर्वअन्तर्राष्ट्रिय व्यवसायीको संस्था ‘फिप्मो’द्वारा आयोजित कार्यक्रममा उहाँले देशभित्रै पर्याप्त रोजगारको अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै यसका चुनौतीबारे चर्चा गर्नुभएको हो ।

अवैध बाटोबाट प्रतिबन्धित मुलुकमा पुगेका नेपाली महिला श्रमिक अलपत्र परिरहेको सन्दर्भ उल्लेख गर्दै मन्त्री भण्डारीले वैधानिक बाटो खोल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्रालयको प्राथमिकतामा वैदेशिक रोजगार मात्र नभएको भन्दै वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सीप र पुँजीलाई उत्पादनसँग जोड्न सरकार प्रयासरत रहेको उहाँको भनाइ थियो । मन्त्री भण्डारीले यसका लागि सहकार्य गर्ने सम्बन्धित सबै सङ्घसंस्थालाई एकद्वार प्रणालीबाट ल्याउनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

उहाँले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम) गरेर मन्त्रालयको पुनःसंरचना गर्ने तयारीबारे जानकारी दिँदै उहाँले आन्तरिक रोजगार महाशाखा स्थापना गरिने बताउनुभयो । “यस मन्त्रालयअन्तर्गतको पुनःसंरचनामा वैदेशिक रोजगार महाशाखा, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्ड छन् ।

यसले के इम्प्रेसन दिन्छ भने यस मन्त्रालयले खाली विदेश मात्र पठाउने काम गर्छ”, उहाँले भन्नुभयो, “पुनःसंरचनाअन्तर्गत हामीले आन्तरिक रोजगार महाशाखा स्थापना गर्दैछौँ । यसलाई मन्त्रिपरिषद्मा छिट्टै पठाउँदैछौँ ।”

मन्त्री भण्डारीले आप्रवासी कामदारले भोग्दै आएको समस्याको समाधानका लागि मन्त्रालय प्रयासरत रहेको बताउनुभयो । उहाँले विश्वका विभिन्न मुलुकमा कागजपत्रको अभावमा अवैध रुपमा बस्न बाध्य नेपालीलाई आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“नेपाली नागरिक जुनसुकै देशमा अवैध रुपमा बस्नुपर्ने बाध्यता छ भने आवश्यक ‘डकुमेन्ट’लाई वैधानिक बनाउने काम नेपाल सरकारको हो”, मन्त्री भण्डारीले भन्नुभयो, “ती मुलुकहरुले उहाँहरुलाई काम दिएको हुन्छ । तर हामीले फाराम भरेन, काम गर्ने इजाजत पत्र लिएन लगायतका बहानामा अलपत्र पार्नु हुँदैन ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.