रातो पासपोर्ट र सांसद बुझाउन रास्वपाको निर्देशन
विघटित प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद विघटन भैसकेको अवस्थामा सांसदका रुपमा लिइएको रातो पासपोर्ट फिर्ता गर्न पार्टीका पूर्व सांसदहरुलाई निर्देशन दिएको छ ।
पार्टीले पासपोर्टसंगै सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा जतिसक्दो चाँडो बुझाउन निर्देशन दिएको पार्टी प्रवक्ता मनिष झाले बताउनुभएको छ ।
यसै गरी रास्वपाले कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम पार्टीले ब्यानर र झण्डा प्रयोग गरेर आयोजना नगर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।
रास्वपाले पार्टी पंक्तिलाई निर्देशन दिंदै भनेको छ, “जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौं । तसर्थ यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरिन्छ ।”
गत भदौ २३ गते नव पुस्ता जेनजी प्रदर्शनमा सरकारले चरम दमन गरेलगत्तै आन्दोलनलाई समर्थन गर्दै रास्वपाका सांसदहरूले पदबाट राजीनामा दिएका थिए । त्यस्तै रातो पासपोर्ट र परिचयपत्र फिर्ता गर्न निर्देशन दिने पनि रास्वपाा पहिलो पार्टी बनेको छ ।




प्रतिक्रिया राख्नुहोस्