ओमानमा जारी आइसीसी टी २० विश्वकप एसिया छनोटको सुपर ६ को आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टर हासेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि कप्तान रोहित कुमार पौडेलको अद्र्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको हो ।
नेपालको सुरुवाती ब्याट्समयान सस्तैमा आउट भएको खेलमा कप्तान पौडेल र उपकप्तान दीपेन्द्रसिं ऐरीले उत्कृष्ट साझेदारी गरेका थिए । नेपालले २५ रन बनाउँदा दुवै ओपनरलाई गुमाइसकेको थियो।
ओपनर कुशल भुर्तेल ८ बलमा ६ रन र आसिफ शेख १२ बलमा ११ रन बनाएर कतारका बलर मिर्जा मोहम्मद बेगको शिकार बने।त्यसपछि क्रिजमा आएका कुशल मल्लले एक छक्का प्रहार गरे पनि १० बलमा ८ रनभन्दा बढी जोड्न सकेनन्।
४८ रनमा ३ विकेट गुमाएर संकटमा परेको नेपालको इनिङ्स कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले सम्हालेका थिए। एक छेउबाट विकेट झरिरहेको अवस्थामा कप्तान रोहितले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ३५ बलमा अर्धशतक पूरा गरे। उनले दीपेन्द्रसँग चौथो विकेटका लागि ६२ रनको महत्त्वपूर्ण साझेदारी गरे।
यो साझेदारीले नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याएको थियो। दीपेन्द्र २२ बलमा २६ रन बनाएर आउट भएपछि यो साझेदारी तोडियो।
दीपेन्द्र आउट भएपछि नेपालले फेरि लय गुमायो। आदिल आलम ६ बलमा २ रन बनाएर आउट भए। उत्कृष्ट पारी खेलिरहेका कप्तान रोहित ४१ बलमा ६ चौका र १ छक्कासहित ५८ रनमा आउट भएपछि नेपाल ठूलो स्कोर बनाउनबाट चुक्यो।
त्यसपछि गुल्सन झाले ८ बलमा १६ रन र सोमपाल कामीले ९ बलमा १४ रन जोड्दै नेपाललाई १४७ रनको स्कोरसम्म पुर्याए। सन्दीप जोरा १ रनमा आउट भए।
कतारका लागि मिर्जा मोहम्मद बेग र ड्यानियल आर्चर मारिया लुइसले समान ३-३ विकेट लिए। त्यस्तै, मोहम्मद असिम र ओवैस अहमदले एक-एक विकेट हात पारे।




प्रतिक्रिया राख्नुहोस्