सम्पादकीय

विकास र समृद्धिका लागि गर्नैपर्ने काम

मुलुकको राजनीतिमा अभूपूर्व उत्साह जागेको छ । आम नेपाली जनतामा एउटा आशा, भरोसा र विश्वास जागृत भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई झण्डै दुई तिहाई बहुमत दिएपछि आज यही विषय सर्वाधिक चर्चा र चासोमा रहेको छ ।

विद्यमान निर्वाचन प्रणालीका कारण कुनै पनि दलले बहुमत ल्याउन सक्दैन भन्दै सामाजिक सञ्जाल र संचारमाध्यममा कुर्लने विशेषज्ञहरु यतिबेला चकित परेका छन् । देखियो के भने निर्वाचन प्रणाली होइन, निर्वाचनमा भाग लिनेको प्रवृत्तिका समास्या उत्पन्न भएको स्पष्ट देखियो ।

नयाँ सरकार अबको केही दिनमा बन्दैछ । कसैको सहाराबिना गठन हुने भावी सरकारप्रति जनताको ठूलो अपेक्षा छ र त्यो अपेक्षा पूरा गर्न सानोसानो काम पनि बडो गम्भीरतापूर्वक गर्नु आवश्यक छ ।

आज नेपाली समाज भताभुंग हुँदै गएको छ । सामाजिक पूँजीका रुमाा रहेका हाम्रा धार्मिक, सांस्कृति मान्यता, परम्परागत सीप र पेशा राजनीतिकरणले थिलथिलो बनाएर परनिर्भरतामा बाँच्न बाध्य हुनुपरेको छ ।

यसको अन्त्यका अत्यावश्यक छ र सामाजिकीकरणमार्फत मुलुकको रुपान्तरणको सुरुवात हुनुपर्दछ । विकास र समृद्धिका लागि मानवीय पूँजीको अत्यधिक उपयोगमा विशेष चनाखो हुनुपर्दछ ।

विकासको मुख्य इञ्जिन मानिस नै हो। सामाजिकीकरणले व्यक्तिलाई शिक्षा, सीप र प्रविधिसँग जोड्छ। जब समाजले श्रमको सम्मान गर्ने र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने संस्कार सिकाउँछ, तब मात्र मानवीय पुँजीको निर्माण हुन्छ।

दक्ष र इमानदार जनशक्ति नै समृद्धिको आधार हो। उदाहरणका लागि, यदि समाजले छोरा र छोरीलाई समान अवसर र शिक्षा दिने संस्कार (सामाजिकीकरण) विकास गर्छ भने, देशको आधा जनसंख्या स्वतः विकासको मूल प्रवाहमा सामेल हुन्छ, जसले आर्थिक वृद्धिलाई तीव्र पार्छ।

यससंगै शान्ति र स्थिरता तथा सामाजिक सद्भाव कायम हुन्छ, जसले विकासलाई अरु बढी गति दिन्छ । नेपाल जस्तो बहुसांस्कृतिक र बहुभाषिक मुलुकमा सामाजिकीकरणले विविधतामा एकताको पाठ सिकाउँछ। एकअर्काको धर्म, संस्कृति र परम्परालाई सम्मान गर्ने संस्कारले समाजमा द्वन्द्व न्यूनीकरण गर्छ।

जब समाजमा आपसी सद्भाव रहन्छ, तब मात्र विकासका परियोजनाहरू निर्बाध रूपमा अघि बढ्न सक्छन्। सामाजिकीकरणले व्यक्तिमा “म” भन्दा “हामी” र “मेरो” भन्दा “हाम्रो” भन्ने सामूहिक भावना जागृत गराउँछ।

सामूहिक भावनाले प्रकृति संरक्षणलाई प्रोत्साहित गर्छ । आज विकासको नाममा भैरहेको वातावरणीय विनाशले भावी पुस्तालाई सुरक्षित पृथ्वी हस्तान्तरणमा ठूलो चुनौति थपिएको छ । जलवायु परिवर्तनका कारण विकासका आयामहरु अबरुद्ध हुन थालेका छन् । मानिसको बाँच्न पाउने नैसर्गिक अधिकार कुण्ठित हुन थालेको छ ।

आज समृद्धिले नै सकस ल्याएको छ । बुझ्नैपर्ने कुरा के हो भने समृद्धि केवल आजका लागि मात्र होइन, भोलिका पुस्ताका लागि पनि हुनुपर्छ। सामाजिकीकरणले मानिसलाई प्रकृतिसँग जोडिन र वातावरण संरक्षण गर्न सिकाउँछ। रुख रोप्ने, सफाइमा ध्यान दिने र प्राकृतिक स्रोतको मितव्ययी प्रयोग गर्ने संस्कारले दिगो विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउँछ। जब समाजले विकासलाई विनाशसँग होइन, संरक्षणसँग जोडेर हेर्ने चेतना दिन्छ, तब मात्र वास्तविक समृद्धि सम्भव हुन्छ।

नकारात्मक संस्कारले विकासको गतिलाई अवरुद्ध गर्छन्। साथै, पश्चिमा संस्कृतिको अन्धअनुकरणले गर्दा हाम्रो मौलिक सीप र पहिचान हराउँदै गएको छ, जसले गर्दा हामी परनिर्भर बन्दै गएका छौँ। यसको अन्त्य आजको ठूलो चुनौति हो र भावी सरकारका लागि गर्नैपर्ने काम सामाजिकीकरण वा सामूहिक भावनाको विकास हो । यसले समानताको भावना विकसित गरी समृद्धिको यात्रामा सघाउँछ ।

सामाजिकीकरणले जातजाति, धर्म र लिङ्गको आधारमा हुने विभेद अन्त्य गरी ‘हामी सबै एक हौं’ भन्ने भावना जागृत गराउँछ। जब समाजमा एकता हुन्छ, तब मात्र विकासका कार्यहरू द्रुत गतिमा अघि बढ्छन्।

विकासका ठूलठूला गफ चुटेर मात्र हुँदैन, विकासका बहुआयामिक पक्षहरुलाई गम्भीर ढंगले विश्लेषण गर्नसके मात्र त्यसले सकारात्मक नतिजा दिन्छ । सामाजिकीकरणले मानिसमा उद्यमशीलताको विकास गर्न प्रेरित गर्छ । जब समाजमा समानता कायम हुन्छ तब परम्परागत सीप र पेशाहरु हस्तान्तरण हुँदै जान्छन् ।

आजको ठूलो समस्या भनेको एक पुस्ताबाट अर्को पुस्तामा ज्ञान र सीप हस्तान्तरण नहुनु हो । तर, सामाजिकीकरणको भावना विकसित हुनासाथ यसमा सुधार आउँछ । श्रमको सम्मान गर्न सिकाउँछ । जब समाजले श्रमको सम्मान गर्न सिकाउँछ, तब व्यक्तिहरू आत्मनिर्भर बन्छन्। यसले मुलुकको विकास र समृद्धिमा ठूलो टेवा दिन्छ ।

आजको आवश्यकता अर्थशास्त्रका ठेली घोकेर मात्र होइन समाजको विविधताबीच एकता कायम गर्दै श्रम, पेशा र सीपको सम्मान गर्न गर्ने वातावरण बन्दछ तब मुलुक समृद्धिको यात्रामा अघि बढ्छ । यसका लागि सरकारले विशेष नीति लिएर अघि बढ्नुपर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.