प्रबास

अमेरिकाद्वारा नेपाल भ्रमणसम्बन्धी ‘ट्राभल एडभाइजरी’ परिमार्जन

संयुक्त राज्य अमेरिकाले गत भदौ २३ गते (सन् २०२५ सेप्टेम्बर)देखि नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी) मा सुधार गरेको छ ।

जेनजी आन्दोलनपछि आफ्नो नागरिकका लागि ‘एडभाइजरी’ जारी गरेको अमेरिकाले नेपालमा सुरक्षा स्थिति सामान्य बन्दै गएको उल्लेख गर्दै ‘एडभाइजरी’अपडेट गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयद्वारा जारी नयाँ सार्वजनिक सूचना अनुसार यसअघि उच्च जोखिम देखाइएकोमा अहिले यसलाई घटाएर “थप सावधानी अपनाउनु पर्ने” तहमा झारिएको छ ।

अद्यावधिक गरिएको सारांशमा भनिएको छ, “सेप्टेम्बर २०२५ बाट सुरु भएका प्रदर्शनहरू रोकिएका छन् र सुरक्षा अवस्था स्थिर छ । तर, सहरहरूमा अझै पनि स्थानीय स्तरमा सानातिना विरोध प्रदर्शन हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।”

अमेरिकी नागरिकहरूलाई चेतावनी दिँदै भनिएको छ- प्रदर्शनहरू कुनै पूर्वसूचना बिना हुनसक्ने र कहिलेकाहीँ हिंसात्मक रूप लिन सक्ने भएकाले भीडभाडबाट टाढा रहन र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न सुझाव दिइएको छ ।

नेपालमा राजनीतिक स्थिरता कायम हुँदै गएको र सुरक्षा अवस्थामा सुधार आएका कारण अमेरिकाले ट्राभल एडभाइजरीको तह घटाउनुलाई पर्यटन क्षेत्रका लागि सकारात्मक सङ्केतका रूपमा हेरिएको छ ।

भ्रमणका लागि खुकुलो बनाए पनि अमेरिकाले नेपालको स्वास्थ्य सेवाका सम्बन्धमा एडभाइजरीमा काठमाडौँका अस्पतालहरू तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा राम्रो भए पनि उपकरण र औषधीको अभाव हुन सक्ने उल्लेख गर्दै आफ्ना नागरिकलाई अनिवार्य रूपमा ट्राभल इन्स्योरेन्स गर्न र आवश्यक औषधी साथमै बोक्न आग्रह गरिएको छ ।

यसै गरी नेपाल भूकम्पीय जोखिम भएको क्षेत्र हुनुका साथै जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा बाढी र पहिरोको उच्च जोखिम रहने कुरालाई पनि एडभाइजरीमा विशेष जोड दिइएको छ । बाढी-पहिरोले सडक अवरुद्ध हुने र आपत्कालीन सेवामा पहुँच कठिन हुन सक्ने भन्दै सावधानी अपनाउन भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.