बिशेषराजनीति

यस्तो छ राष्ट्रिय प्रतिबद्धता मस्यौदाका मुख्य प्राथमिकता, कार्यसूची र लक्ष्य

नेपाल सरकारले २०८२ को निर्वाचनपछि राष्ट्रिय मान्यता प्राप्त ६ दल (रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा) का घोषणापत्रलाई संश्लेषण गरी साझा दस्तावेज तयार पारेको छ ।

उक्त मस्यौदामाथि आगामी वैशाख १० गतेभित्र राय तथा सुझाव दिन राजनीतिक दल र सरोकारवालालाई आह्वान गरेको छ। दस्तावेजलाई आगामी आर्थिक वर्ष २०८३/८४ देखिको नीति, कार्यक्रम र बजेटको आधार बनाइनेछ।

यसको प्रभावकारी कार्यान्वयन, अनुगमन र अन्तरनिकाय समन्वयको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विकास व्यवस्थापन क्षेत्र हेर्ने सचिवलाई दिइएको छ।

प्रतिबद्धतामा अन्तर्राष्ट्रिय व्यापारमा पहुँच बढाउन मित्रराष्ट्र भारतसँग अन्तर्देशीय जलमार्ग र चीनको सामुद्रिक बन्दरगाह उपयोग गर्ने रणनीतिक योजना बनाइएको छ ।

त्यस्तै २०४६ सालपछिका सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिनदेखि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने लगायतका दूरगामी महत्त्वका विषयहरू समेटिएका छन्।

प्रतिबद्धतापत्रका मुख्य बुँदाहरु संक्षेपमा

१. आर्थिक स्थायित्व र लक्ष्य
आर्थिक सूचक: आगामी ५ वर्षमा औसत ७% आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिव्यक्ति आय ३,००० डलर पुर्‍याउने र कुल गार्हस्थ्य उत्पादन १०० अर्ब डलर नजिक पुर्‍याउने लक्ष्य।

निजी क्षेत्र: करका दर र सर्तहरू १० वर्षसम्म स्थिर रहने कानुनी प्रत्याभूति। नीतिगत दोहन र कार्टेलिङको अन्त्य।

वित्तीय पारदर्शिता: नेपाललाई ‘ग्रे लिस्ट’ बाट मुक्त गर्न मनी लाउन्डरिङ नियन्त्रण र ‘इकोनोमिक चार्टर’ मार्फत राष्ट्रिय सहमति।

२. कृषि र पर्यटनमा रूपान्तरण
कृषि: किसान क्रेडिट कार्ड, योगदानमा आधारित किसान पेन्सन र वास्तविक किसानलाई मात्र अनुदान। ५ वर्षमा थप ३ लाख हेक्टरमा सिँचाइ सुविधा।

पर्यटन: सन् २०२७ लाई ‘राष्ट्रिय आरोग्य वर्ष’ मनाइने। नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई स्वायत्त निकायमा विभाजन गरिने। पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन।

३. ऊर्जा, खनिज र पूर्वाधार
ऊर्जा: १० वर्षमा ३०,००० मेगावाट विद्युत् उत्पादन गर्ने र नेपाललाई दक्षिण एसियाको ‘स्वच्छ ऊर्जा निर्यात हब’ बनाउने। ग्रिन हाइड्रोजन उत्पादनमा जोड।

पूर्वाधार: ‘एकीकृत मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम’ मार्फत सडक, जल र हवाई मार्गको समन्वय। भारतसँग अन्तर्देशीय जलमार्ग र चीनको बन्दरगाह उपयोग गर्ने रणनीति।

खानी: खनिज लाभांशमा स्थानीय समुदायको हिस्सा सुनिश्चित गर्न ‘खानी तथा खनिज प्राधिकरण’ स्थापना। वातावरण विनाश नहुने गरी ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गरिनेछ। आन्तरिक उपयोगका साथै खानीजन्य सामग्रीको निर्यात प्रवर्द्धन गरिने।

४. शिक्षा, स्वास्थ्य र रोजगारी
शिक्षा: सार्वजनिक शिक्षा पूर्ण निःशुल्क र दलीय राजनीतिबाट मुक्त। शिक्षकको राजनीतिक आबद्धता निषेध। कक्षा १२ सम्म डिजिटल साक्षरता र कोडिङ अनिवार्य।

स्वास्थ्य: बजेटको ८% हिस्सा स्वास्थ्यमा। ‘एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल’ र हरेक गाउँमा एमडिजिपी चिकित्सक। हरेक गाउँमा एक एमडिजिपी चिकित्सकको व्यवस्था गरिनेछ भने विपन्न, अशक्त र अपाङ्गता भएकाहरूलाई पूर्ण निःशुल्क उपचार दिइनेछ।

रोजगारी: आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने सरकारको महत्त्वकाङ्क्षी योजना छ। नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न ‘रिमोट वर्क’ र ‘डिजिटल रोजगारी’ लाई कानुनी मान्यता दिइनेछ।

सबैलाई श्रम संस्कृतिसँग जोड्न अनिवार्य श्रम गराइनेछ र श्रम बजारलाई ठगीमुक्त बनाइनेछ। विद्यालय तहदेखि नै कोडिङ पढाउने र ‘अर्न ह्वाइल यु लर्न’ मोडल विकास गरिनेछ भने वैदेशिक रोजगारीलाई सुरक्षित र स्वैच्छिक बनाइनेछ।

५. सुशासन र प्रशासनिक सुधार
भ्रष्टाचार नियन्त्रण: २०४६ सालपछिका सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन। स्वार्थको द्वन्द्व (Conflict of Interest) सम्बन्धी कानुन निर्माण।

प्रशासनिक चुस्तता: सङ्घीय मन्त्रालयको सङ्ख्या १७ मा झारिने। सरकारी सेवामा दलीय ट्रेड युनियन खारेज। ५ वर्षमा २५% नयाँ र सक्षम जनशक्ति भर्ना।

प्रविधि: आफ्नै भू-उपग्रह (Satellite) र ‘सोभरेन लार्ज ल्याङ्ग्वेज मोडल’ विकास। नागरिक एपलाई ‘सुपर एप’ बनाइने।

६. सामाजिक न्याय र परराष्ट्र नीति
क्षमायाचना: ऐतिहासिक संरचनात्मक विभेदप्रति राज्यको तर्फबाट औपचारिक क्षमायाचना र सबै निकायमा ‘समावेशी अडिट’।

परराष्ट्र: सैन्य गठजोडलाई अस्वीकार गर्दै नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ मा रूपान्तरण गर्ने। ‘नेपाल प्रथम: नेपाली प्रथम’ को अवधारणा।

डायस्पोरा: ‘एकपटकको नेपाली सधैंको नेपाली’ मान्यता। वार्षिक १ खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्ने।

७. वातावरण, विपद् र वित्तीय सुरक्षा
वातावरण: सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन र अधिकारसम्पन्न ‘चुरे संरक्षण प्राधिकरण’ गठन। वन सम्पदाको व्यावसायिक विकास गर्न वैज्ञानिक प्रणाली अपनाइनेछ।

वन डढेलो नियन्त्रण गर्न ड्रोन र स्याटेलाइट प्रविधि प्रयोग गरिनेछ। चुरे क्षेत्रको दोहन रोक्न तीनवटै तहको साझा जिम्मेवारीसहित अधिकारसम्पन्न ‘चुरे संरक्षण प्राधिकरण’ गठन गरिनेछ।

तराईमा आर्सनिकमुक्त पानीको सुनिश्चितता र मधेशमा भूमिगत जलस्तर सुधारका लागि परम्परागत पोखरीहरूको संरक्षण गरिनेछ। जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाइनेछ।

८. सहकारी/लघुवित्त

सहकारीलाई राष्ट्र बैंकको प्रत्यक्ष सुपरीवेक्षणमा ल्याइने। बचत सुरक्षा कोष स्थापना र मिटरब्याजलाई आर्थिक अपराध घोषणा। सहकारी बचतकर्ताको कमाई सुरक्षित गर्न एकीकृत बचत सुरक्षा कोष स्थापना गरिनेछ।

मिटरब्याज र अनुचित लेनदेनलाई आर्थिक अपराधका रूपमा परिभाषित गरी कडा कारबाही गरिनेछ। यस्ता अपराधबाट पीडित भएकाहरूलाई स्थानीय तहमा निःशुल्क कानुनी र मनोसामाजिक सहायता उपलब्ध गराइनेछ।

कार्यान्वयन र अनुगमन
यो मस्यौदामाथि २०८३ वैशाख १० गतेभित्र सुझाव आह्वान गरिएको छ। यसको कार्यान्वयन, समन्वय र अनुगमनको मुख्य जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विकास व्यवस्थापन सचिवलाई सुम्पिएको छ। सरकारले आयोजना प्रमुखहरूको जथाभाबी सरुवा रोक्ने र विकासलाई ‘मिसन मोड’ मा लैजाने दृढता व्यक्त गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.