भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले अपराजित यात्रा कायमै राखेको छ । बिहीबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै पञ्जाबले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।
मुम्बईको घरेलु मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।
मुम्बईका लागि क्विटन डि ककले ६० बलमा ८ चौका र ७ छक्का प्रहार अविजित रहँदै १ सय १२ रनको शतकीय पारी खेले भने नमन धिरले ३१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ खेले ।
पञ्जाबका लागि अर्शदिप सिंहले तीन विकेट लिए भने मार्को यानसन र शंशाक सिंहको भागमा समान एक-एक विकेट रह्यो । मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य पञ्जाबले १६.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको लागि ओपनर प्रभसिमरन सिंहले ३९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै अविजित रहँदै सर्वाधिक ८० रनको अर्धशतकीय पारी खेले भने कप्तान श्रेयश अय्यरले ३५ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै कुपर कोनलीले १७ रन जोड्दा प्रियाशं आर्यले १५ र मार्कस स्टोइनेस १० रनमा अविजित रहे । मुम्बईका लागि अल्लाह गजान्फरले दुई विकेट लिए भने शार्दुल ठाकुरको भागमा एक विकेट रह्यो । जितसंगै पञ्जाब पाँच खेलमा नौ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा दुई अंक जोडेको मुम्बई पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति पौने आठ बजे गुजरात टाईटन्स र कोलकाता नाईट राइडर्स भिड्दै छन् ।





प्रतिक्रिया राख्नुहोस्