भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा राजस्थान रोयल्स विजयी भएको छ । बुधबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित गर्दै राजस्थान विजयी भएको हो ।
लखनउको घरेलु मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । राजस्थानका लागि रविन्द्र जडेजाले २९ बलमा २ चौका र १ छक्का प्रहार अविजित रहँदै सर्वाधिक ४३ रन बनाए भने यशस्वी जैसवाल र शिमरन हिटमायरले समान २२-२२ रन जोडे ।
त्यस्तै डेनोभन फरेराले २० रन जोड्दा शुभम दुबे १९ रनमा अविजित रहे । लखनउका लागि प्रिन्स यादव, मोहम्मद सामी र मोहसिन खानले समान दुई-दुई विकेट लिए । राजस्थानले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउ १८ ओभरमा १ सय १९ रनमा समेटियो । लखनउका लागि ओपनर मिचेल मार्शले ४१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकीय पारी खेले भने निकोलस पुरनले २२ रन जोडे ।
यस्तै हिम्मत सिंहले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । राजस्थानका लागि जोफ्रा आर्चरले तीन विकेट लिए भने नान्द्रे बर्गर र ब्रिजेश शर्माले समान दुई-दुई विकेट लिँदा रविन्द्र जडेजा र रवि बिश्नोईको भागमा समान एक-एक विकेट रह्यो ।
जितसंगै सात खेलमा १० अंक जोडेको राजस्थान तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा चार अंक जोडेको लखनउ पुछारबाट दोस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति पौने आठ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्दै छन् ।





प्रतिक्रिया राख्नुहोस्