जन सरोकार

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ ।

करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७० प्रतिशत भौतिकतर्फको प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको निर्माणकार्य डेढ महिनादेखि सुस्त बनेको छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव तथा बजारमा देखिएको असहज अवस्थाका कारण निर्माण कम्पनीहरूले कामको गति कम गरेको जनाएका छन् ।

पन्ध्र दशमलव आठ किलोमिटर सडक विस्तारको महत्वाकाङ्क्षी योजना अहिले ‘सामग्री अभाव’ देखाउँदै प्रभावित बनाइएको छ । निर्माण कम्पनीका प्रतिनिधिले सडक विस्तारको काम निर्धारित लक्ष्यअनुसार अघि बढिरहे पनि थपिएको समयमा नसक्ने बताएका छन् ।

साँगा–धुलिखेल सडकखण्डअन्तर्गत करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । यसअघि चालु आर्थिक वर्षको असार मसान्तसम्म ९० प्रतिशत कामसक्ने लक्ष्यसहित तीव्रगतिमा निर्माण भइरहेको थियो ।

जिम्मा पाएको लामा कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा आवश्यक सामग्री सहज रूपमा उपलब्ध नभएकाले कामको गति सुस्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक सामग्रीको अभावमा काम पूर्ण रूपमा बन्द भने नभएको तर पहिलेको जस्तो तीव्रता कायम राख्न कठिन भएको छ ।

श्रेष्ठले सरकारले तत्काल निर्माण क्षेत्रको समस्या समाधानका लागि ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्नुपर्ने र मूल्यवृद्धि समायोजनको निर्णय गर्नुपर्ने माग गर्नुभयो । निर्माण व्यवसायीले भारतबाट सडक पक्की गर्ने कच्चा पदार्थ ‘बिटुमिन’ तथा अन्य अत्यावश्यक सामग्री ल्याउने प्रयास गरे पनि सफल हुन नसकेको उहाँको भनाइ छ ।

विस्तारित राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक काभ्रेपलाञ्चोकको साँगा खण्डमा भने कामको प्रगति अझै कमजोर देखिएको छ । उक्त खण्डमा हालसम्म ४८ प्रतिशतमात्रै काम सम्पन्न भएको जनाइएको छ ।

अनुगमनका क्रममा विहीबार जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले वर्षायाम सुरु भइसकेकाले अब निर्माणस्थलमा थप जोखिम बढ्नसक्ने भन्दै पूर्वतयारीमा निर्माण कम्पनीले जोड दिनुपर्ने बताउनुभएको छ ।

उहाँले यात्रीलाई सहज आवागमन सुनिश्चित गर्न, सडक अवरोध कम गर्न र सम्भावित क्षति न्यून गर्न निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई सचेत रहन आग्रह गर्नुभयो ।

त्यसैगरी, काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वर्षा नपर्दा धुलो र पानी परेपछि हिलो तथा चिप्लोपनले यात्री तथा स्थानीयलाई ठूलो समस्या पारेकाले तत्काल व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले हालको परिस्थितिमा निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न कठिन अवस्था सृजना भएको स्वीकार गर्दै निर्माण क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकारी निकायमार्फत पहल भइरहेको र भारतबाट आउने बिटुमिनको आपूर्ति सहज बनाउन प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

यसैबीच, आयोजनाले थपिएको समयमा विस्तारकार्य सम्पन्न गर्नेसमेत जनाएको छ । दुई लेन रहेको उक्त राजमार्गको यस खण्डलाई छ लेनका लागि विस्तारकार्य भइरहेको हो । सडक दायाँबायाँ दुई सर्भिस लेन तथा २.५ मिटरको फुटपाथ निर्माण भइरहेको छ । आयोजनाको समयावधि सकिएपछि गत मङ्सिर अन्तिम साता पुनः एक वर्ष थपेर स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो ।

उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको हो ।

आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि २०७९ साल मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो ।

उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशतमात्र काम सम्पन्न भएको थियो ।

हाल पुलबजार–जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाइ ८०० मिटर र चौडाइ १० मिटर कालोपत्र सम्पन्न भइसकेको छ बनेपाबाट साँगातर्फ दुवै लेनमा कालोपत्रको तयारी भइरहेको छ । यस्तै हाल बाँसघारी–बुडोल क्षेत्रमा मेन लेनमा कटिङ र सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ ।

बनेपाको चाँदनी चोकमा कल्र्भट राख्ने तयारी भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ गर्ने काम भइरहेको खनालको भनाइ छ । साँगा–भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा अहिले कटिङको काम भइरहेको आयोजनाले जनाएको छ ।

सूर्यविनायक–धुलिखेल सडक विस्तारकार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा ७.५ किलोमिटर विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि म्याद थपिएको हो ।

हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ भने सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठूलो घुम्ती तथा तल ठूलो भिर भएकाले काम गर्न केही अफ्ठ्यारो परेको जनाइएको छ ।

हाल साँगामा ‘अन्डरपास’ निर्माणकार्य भइरहेको छ । भक्तपुर–धुलिखेल सडक आयोजनामध्ये पर्ने तीनवटा पुलको निर्माण प्रक्रिया आयोजनाको योजनाअनुसार अघि बढिरहेको जनाइएको छ ।

यो खण्ड विस्तारपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.