क्रिकेटखेल

आइसिसी महिला टि–ट्वान्टी च्यालेन्जमा नेपाल भानुआतुसँग २२ रनले पराजित

आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआतुसँग पराजित भएको छ ।

रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट ओभलमा शुक्रबार भएको खेलमा नेपाल भानुआतुसँग २२ रनले पराजित भएको हो । जितका लागि ९८ रनको लक्ष्य पछ्याएको नेपाल १५.३ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमै समेटियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक २४ रनको योगदान दिइन् । उनले १९ बलमा ४ चौका प्रहार गरिन् । त्यस्तै कप्तान इन्दु वर्माले १३ र कविता कुँवरले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ भानुआतुका लागि भानेसा भिरा र नासिमाना नवाइकाले तीन तीन विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भानुआतुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनायो । भानुआतुका लागि भालेन्टा लाङ्गियातुले सर्वाधिक ४२ रनको योगदान दिइन् । उनले ५० बलमा दुई चौका र दुई छक्का हानिन् । यस्तै नासिमाना नवाइकाले १८ तथा सेलिना सोलमन र सुसन स्टीफनले १०÷१० रन बनाए ।

बलिङतर्फ नेपालका लागि रिया शर्माले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । यस्तै मनिषा उपाध्याय, कविता कुँवर र रचनाकुमारी चौधरीले एक एक विकेट लिए । अब नेपालले यही वैशाख १३ गते अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.