सरकारले काठमाडौंको थापाथली र तीनकुनेमा बसोबास गरिरहेका सुकुम्बासीलाई त्यहाँबाट स्थानान्तरण गरी यसअघि नै सुकुम्बासीका लागि निर्माण भएको इचङ्गुको ४२ वटा आवास युनिट लगायत पाँच स्थानमा राखिने भएको छ ।
यसअघि उनीहरुलाई दशरथ रंगशाला लगिने काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभएको हो । उहाँका अनुसार त्यहाँ लगेर स्क्रिनिङ गरेपछि बल्ल होल्डिङ सेन्टरमा लाने तयारी छ ।
भुसालका अनुसार अहिले रंगशाला लाने काम पनि भइरहेको छ । रंगशाला लगेर को वास्तविक सुकुमवासी हो भन्ने पहिचान भएपछि वास्तविक सुकुमवासीलाई अहिले अस्थायी रुपमा होल्डिङ सेन्टरमा लगेर राखिने छ ।
यतिबेला थापाथलीका सुकुम्बासी बस्ती खाली गराउने काम चलिरहेको छ भने यसलगत्तै तीनकुने खाली गराइनेछ । त्यहाँबाट स्थानान्तरण गरिने सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने तयारी भएको छ ।
शनिबार र आइतबार ती क्षेत्रबाट स्थानान्तरण गरेर सुकुमवासीहरुलाई नागार्जुन -इचङ्गु)को ४२ वटा आवास युनिटमा राखिने भएको छ । कीर्तिपुरको सत्सङ्गको ठूलो भवनमा राख्नको लागि अर्को स्थान तय गरिएको छ ।
भक्तपुरस्थित बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा राखिने भएको छ । खरीपाटी र चाँदबागमा सरकारी भवन र खाली जग्गा पनि अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।
यी संरचनाहरू यसअघि निर्माण गरिएका हुन्, जसलाई अहिले वास्तविक सुकुमवासी व्यवस्थापनका लागि पूर्ण प्रयोगमा ल्याउन लागिएको हो ।
राजधानीका नदी किनारका बहुमूल्य सरकारी सार्वजनिक पर्ती जग्गा वर्षौँदेखि कब्जा गरेर बसेका अनधिकृत बस्ती हटाउन लागिएको सरकारले जनाएको छ ।
सार्वजनिक जग्गा फिर्ता गर्नु मात्र नभई, ‘सक्कली’ र ’नक्कली’ सुकुमवासीको छनोट गर्नका सुकुमवासी बस्ती खाली गर्न लागेको प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभएको छ ।
सुकुमवासीलाई अस्थायी स्थानमा राखेपछि अन्यत्र जग्गा भए नभएको लगत संगत गर्ने छ । सुकुम्वासीका नाममा सार्वजनिक जग्गा कब्जा गर्ने ‘नक्कली’ पात्रहरूलाई कुनै पनि हालतमा विकल्प नदिने र उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी समेत सरकारले गरेको छ ।
वास्तविक र अवास्तविक सुकुमवासीको पहिचान गर्ने कार्य भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले गर्नेछ । प्रत्येक व्यक्ति विस्तृत विवरण डिजिटल प्रणाली राख्ने गरी सरकारले तयारी गरेको छ ।
शनिबार बिहानैदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कार्यसँगै सुकुमवासीको व्यवस्थापन मिलाएको छ । स्थानान्तरण हुनेहरूका लागि प्याकेटमा खानाको प्रबन्ध गर्नेछ ।
पुनर्स्थापनाका लागि छानिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न गरिएको छ ।





प्रतिक्रिया राख्नुहोस्