झापामा ‘स्विप अपरेसन’ : एक सय अट्ठाइस जना पक्राउ
लागुऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’ क्रममा झापामा दुई दिनमा १२८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दमकसहित जिल्लाका विभिन्न स्थानमा विशेष जनशक्ति परिचालन गरी केही दिनयता ‘स्विप अपरेसन’ सञ्चालन गरिरहेको जनाएको छ ।
शुक्रबार ६२ र बिहीबार ६६ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार लागूपदार्थसहित पक्राउ परेका १२ जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम लागुऔषध कसुरमा अनुसन्धान भइरहेको छ ।
बाँकी लागुपदार्थ दुर्व्यसनमा लागेका ११६ जनालाई लागुऔषध तथा दुर्व्यसन कसुरमा अनुसन्धान भइरहेको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।
प्रहरी टोलीले बिहीबार महेन्द्र राजमार्गको दमकमा यात्रुवाहक सवारीसाधनको चालक तथा सहचालकको स्वास्थ्य परीक्षण तथा यान्त्रिक चेकजाँच गरेको थियो ।
त्यसरी चेकजाँच गरिएका ५४ चालक तथा सहचालकमध्ये तीन जना चालक र दुई जना सहचालकले लागुपदार्थ सेवन गरेर सवारीसाधन सञ्चालन गरिरहेको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले बताउनुभयो । उहाँका अनुसार दुई जना चालकले मदिरा सेवन गरेरै सवारी हाँकिरहेका परीक्षणबाट पुष्टि भएको हो ।
लागुपदार्थ तथा मदिरा सेवन गरेका चालक तथा सहचालकलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा पाँच जनालाई मुलुकी फौजदारीसंहिता, २०७४ अन्तर्गत सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।





प्रतिक्रिया राख्नुहोस्