गैरीगाउँको सुकुम्बासी बस्तीमा चल्यो डोजर
काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखिसुरु गरिएको छ । त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशनअनुसार भत्काउने अभियान सुरु गरिएको हो ।
आज दिउँसोदेखि त्यहाँ बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले हाल सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा बस्तीका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ । बिहान थापाथली क्षेत्रमा रहेको बस्ती खाली गराएपछि हाल गैरीगाउँ क्षेत्रमा भत्काउने अभियान सञ्चालन भइरहेको छ ।”
अभियानका क्रममा सुरक्षाकर्मीहरूलाई सम्भावित अवरोध रोक्न उच्च सतर्कतामा राखिए पनि हालसम्म बस्ती हटाउने क्रममा कुनै अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ। सरकारले उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई शनिबार र आइतबार दुई दिन लागएर हटाउने तयारी गरेको हो ।
सरकारले दुई दिन अघि देखिनै जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुमबासी तथा भूमिहीनलाई आफ्ना सरसामान, पशुचौपायलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो ।
थापाथलीका सुकुमबासीलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाालामा राखिएको छ । त्यहाँ उनीहरूको विवरण सङ्कल भइरहेको छ । वास्तविक सुकुमबासी पहिचान भएपछि उहाँहरूलाई अस्थायी बसोबासका लागि व्ययवस्था गरिएको स्थानमा स्थानानतरण गरिनेछ । अस्थायी बसोबासको प्रबन्ध शहरी विकास मन्त्रालयले गरिरहेको छ ।
यसैबीच, मनोहराका सुकुमबासी पनि घरटहरा छाडेर गएका छन् । उनीहरूलाई सुरक्षाकर्मीले आफ्ना सामग्रीलाई सुरक्षित स्थानमा लैजान अनुरोध गरिरहेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार र आइतबार काठमाडौँ उपत्यकाका नदी किनारामा अवैध ढङ्गले बनाइएका घरटहरा हटाउन निर्देशन दिनुभएको थियो ।





प्रतिक्रिया राख्नुहोस्