क्रिकेटखेल

आइपिएलमा पञ्जाबको कीर्तिमानी जित, दिल्ली छ विकेटले पराजित

भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले अपराजित यात्रा कायमै राख्दै कीर्तिमानी जित निकालेको छ । शनिबार भएको दिनको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै पञ्जाबले आफ्नो अपराजित यात्रा कायमै राख्दै कीर्तिमानी जित निकालेको हो ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट रंगशालामा भएको कीर्तिमानी खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ६४ रन बनाएको थियो । दिल्लीका लागि ओपनर केएल राहुलले ६७ बलमा १६ चौका र ९ छक्काको सहयोगमा अविजित रहँदै १ सय ५२ रनको कीर्तिमानी शतक बनाएका थिए । राहुलले आइपिएल इतिहासमा १५० रन पार गर्ने पहिलो ब्याटर बन्दै कीर्तिमान कायम गरेका हुन् ।

त्यस्तै उनी क्रिस गेल र ब्रेन्डम म्याकुलम पछि सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडी बने । यस्तै नितिश राणाले ४४ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै ९१ रनको अर्धशतकीय पारी खेले । पञ्जाबका लागि अर्शदिप सिंह र जेभियर ब्राटलिले समान एक-एक विकेट लिए । दिल्लीले दिएको २ सय ६५ रनको लक्ष्य पञ्जाबले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै आइपिएल इतिहासमा नै सर्वाधिक लक्ष्य पूरा गर्दै कीर्तिमान बनाएको छ ।

आइपिएलमा पञ्जाबले सन् २०२४ को संस्करणमा कोलकाता नाइट राइडर्सविरुद्ध २ सय ६२ रनको लक्ष्य पूरा गर्दै शनिबार भएको खेलमा आफैंले बनाएको कीर्तिमान तोडेको हो । पञ्जाबको लागि ओपनर प्रभसिमरन सिंहले २६ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै ७६ रनको अर्धशतकीय पारी खेले भने कप्तान श्रेयश अय्यरले ३६ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै प्रियाशं आर्यले १७ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४३ रन बनाए ।

पहिलो विकेटका लागि प्रभसिमरन र प्रियाशंले आइपिएल इतिहासमा पावर प्लेमा दोस्रो सर्वाधिक रन जोड्ने क्रममा ४१ बलमा १ सय २६ रनको शतकीय साझेदारी गरेका थिए । त्यस्तै नेहाल बढेराले २५ रन जोड्दा कुपर कोनलीले १७ र शशाक सिंह १९ रनमा अविजित रहे । दिल्लीका लागि कुलदिप यादवले दुई विकेट लिए भने अक्षर पटेल र विपराज निगमको भागमा समान एक-एक विकेट रह्यो ।

जितसंगै पञ्जाब सात खेलमा १३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत रहँदा समान खेलमा छ अंक जोडेको दिल्ली छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.