प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता पूर्वप्रधानमन्त्री अधिकारी
नेकपा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष तथा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले प्रथम वामपन्थी प्रधानमन्त्री स्व. मनमोहन अधिकारीलाई अविचलित निष्ठाको प्रतीकका रूपमा चित्रण गर्नुभएको छ ।
नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी -एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको २७ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मनमोहन स्मृति प्रतिष्ठानले आज आइतबार ललितपुरको सानेपास्थित उहाँको शालिकमा माल्यार्पणसहित सभा आयोजना गरेको थियो ।
कार्यक्रममा उहाँले प्रतिष्ठानलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने दिवङ्गत व्यक्तित्वको स्मरण गर्दै प्रतिष्ठानका पूर्वसचिव हरिप्रसाद शर्मा काफ्ले, गोविन्द गजुरेल, डा गोविन्द थापा र लक्ष्मीदास मानन्धरको योगदानले नै मनमोहन अधिकारीको विचारलाई संस्थागत गर्न मद्दत पुगेको बताउनुभयो ।
नेता पोखरेलले अधिकारी नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दाअघिदेखि नै आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्दै भारतमा रहँदा भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भई उहाँले जेलजीवनसमेत बिताएका स्मरण गर्नुभयो ।
कार्यक्रममा एमाले नेता प्रदीपकुमार ज्ञवालीले पछिल्लो समय राजनीतिमा केही पुस्ताको नाममा अतिवादी सोच हाबी भएको बताउँदै परिपक्व नेतृत्वको मार्गदर्शन र युवा ऊर्जाको संयोजनबाट मात्र देश बन्ने बताउनुभयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई इतिहासमा नै ठूलो धक्का लागेको धारणा राख्नुभयो ।
त्यस अवसरमा वक्ताहरूले पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता भएको भन्दै उहाँको योगदानको चर्चा गरेका थिए ।





प्रतिक्रिया राख्नुहोस्