महंगी बढ्ने र आर्थिक वृद्धि आधा घट्ने बैंक अफ जापानको प्रक्षेपण
जापानको केन्द्रीय बैंकले मंगलबार आफ्नो मुद्रास्फीति (महँगी) प्रक्षेपण बढाएको छ भने आर्थिक वृद्धि दरको अनुमानलाई आधा घटाएको छ। इरान युद्धका कारण तेलको मूल्यमा भएको भारी वृद्धिका कारण बैंकले यस्तो निर्णय लिएको हो।
बैंक अफ जापानले यस आर्थिक वर्षमा मुद्रास्फीति २.८ प्रतिशत पुग्ने अनुमान गरेको छ, जुन अघिल्लो प्रक्षेपण १.९ प्रतिशत मात्र थियो। यसैबीच, बैंकले आफ्नो मुख्य नीतिगत ब्याजदरलाई ०.७५ प्रतिशतमा यथावत राखेको छ।
अघिल्लो वर्षको प्रतिवेदनसंग तुलना गर्दा, चालू आर्थिक वर्षको उपभोक्ता मूल्य सूचकांकको वृद्धिदर उल्लेखनीय रूपमा उच्च रहने देखिन्छ। कच्चा तेलको मूल्यमा भएको वृद्धिका कारण आर्थिक वर्ष २०२६ को प्रक्षेपण पनि केही बढेको बैंकले उल्लेख गरेको छ।
बैंकका अनुसार, कच्चा तेलको मूल्य वृद्धिले मुख्यतया ऊर्जा र वस्तुहरूको मूल्य बढाउने अपेक्षा गरिएको छ, साथै बढेको ज्यालालाई बिक्री मूल्यमा जोड्ने क्रम पनि जारी रहनेछ।
बैंकले आर्थिक वर्ष २०२६ को आर्थिक वृद्धि दरको प्रक्षेपणलाई १.० प्रतिशतबाट घटाएर ०.५ प्रतिशत कायम गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०२७ का लागि वृद्धि दर ०.८ प्रतिशतबाट घटाएर ०.७ प्रतिशत हुने अनुमान गरिएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि र इरानले कच्चा तेलको महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज बन्द गरेपछि तेलको मूल्य आकाशिएको छ। यसले विश्वभर इन्धन र अन्य सामग्रीको लागत बढाएको छ, जसले उपभोक्तालाई मर्कामा पारेको छ र आर्थिक गतिविधिमा ब्रेक लगाएको छ।
ब्याजदर घटाउँदा आर्थिक वृद्धिलाई टेवा पुग्न सक्छ, तर यसले मूल्य झनै बढाउने जोखिम रहन्छ। फेडरल रिजर्भ -अमेरिका) र युरोपेली केन्द्रीय बैंकले पनि यस हप्ता हुने बैठकहरूमा ब्याजदर यथावत राख्ने अपेक्षा गरिएको छ।
जापानको चुनौती
विश्वको चौथो ठूलो अर्थतन्त्र जापानका लागि यो युद्धले जापानी येनलाई पनि दबाबमा पारेको छ, जसका कारण प्राकृतिक स्रोतमा गरिब यस राष्ट्रको आयात खर्च झनै चुलिएको छ।
मुडिज एनालिटिक्सका अर्थशास्त्री स्टेफन एङ्ग्रिकका अनुसार बैंक अफ जापानसँग अहिले ‘कुनै राम्रो विकल्प छैन’ । उनले यो अवस्थालाई आर्थिक वृद्धि ठप्प हुने तर महँगी बढ्ने स्थितिको संज्ञा दिएका छन्।
प्रधानमन्त्री सानाए ताकाइची, जो गत वर्ष पदभार ग्रहण गरेदेखि नै लोकप्रिय छिन्, उनले महँगी नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेकी छिन्। यसअघिका दुई प्रधानमन्त्रीको बहिर्गमनमा बढ्दो महँगी नै मुख्य कारक बनेको थियो।





प्रतिक्रिया राख्नुहोस्