महावीरको सम्पत्ति पोखरामा २८ रोपनी जग्गा, तीनतोला सुन र २८ लाख रकम
पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महावीर पुनसंग पोखरामा संयुक्त रुपमा किनेको २८ रोपनी जग्गा, २८ लाख नगद र तीन तोला सुन रहेको विवरण सार्वजनिक गर्नुभएको छ ।
पुनले जग्गा भने २०५२ सालमा जम्मा ४ लाख जतिमा पदम पुनसँग मिलेर किनेको उल्लेख गदैै त्यसको स्रोत भने अमेरिकाबाट फर्किंदा बचेको पैसा) उल्लेख गर्नुभएको छ । सो जग्गा राष्ट्रिय आविष्कार केन्द्र सन्चालनका लागि बिक्रीमा राखेको तर अझै नबिकेको उहाँको भनाइ छ ।
यसैगरी पुनको नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ जति र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ जति नगद मौज्दात रहेको जानकारी दिनुभएको छ ।
नेपाल बैंक लिमिटेडकमा रहेको ४ लाख रकम साथीहरुबाट व्यक्तिगत खर्चका लागि प्राप्त भएको र राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रकम भने प्रतिनिधि सभा निर्वाचन लड्दा सहयोगीहरुले दिएको चन्दाबाट बचेको उल्लेख गर्नुभएको छ ।
उहाँले निर्वाचनमा बचेको सो रकम आफू निर्वाचित भएको म्याग्दी सदरमुकाम बेनीमा रहेको सम्पर्क कार्यालय सन्चालनमा खर्च गर्ने जनाउनुभएको छ ।
यसबाहेक आत्मकथा पुस्तक हालसम्म २ लाख ५० हजार जति बेचेको र त्यसबाट प्राप्त सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखा सन्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रको नाममा नेपाल बैंक लिमिटेडमा जम्मा गरेको जनाउनुभएको छ ।
उहाँले आफूसँग करिब तीन तोला सुन रहेको र सो सुन २०६० सालतिर किनेको र प्राप्तिको स्रोतमा भने श्रीमतीलाई इष्टमित्रहरुले उपहार दिएको जनाउनुभएको छ । यीबाहेक आफूसँग ऋण, सवारी साधन, कृषि तथा पशुधन लगायत अन्य सम्पत्ति केही नभएको सम्पत्ति विवरणमा उल्लेख छ ।





प्रतिक्रिया राख्नुहोस्