राजनीति

सरकारले कानुनलाई दण्डस्वरूप प्रयोग गर्नु अनुचित हुन्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई कानुनको सेवकका रूपमा परिभाषित गर्दै सरकारले कानुनलाई दण्डस्वरूप प्रयोग गर्नु अनुचित हुने बताउनुभएको छ।

आज १३७औँ विश्व श्रमिक दिवसका अवसरमा ‘लोकतन्त्र, ट्रेड युनियन र मानवअधिकारः समग्र श्रमिकको संवैधानिक अधिकार’ भन्ने नारासहित नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आयोजित कार्यक्रममा सभापति थापाले सो कुरा बताउनुभएको हो ।

त्यसक्रममा थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनताले पाँच वर्षका लागि सरकार चलाउने म्यान्डेट दिएको जस्तै नेपाली कांग्रेसलाई पनि संघीय तहमा पाँच वर्ष प्रतिपक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारी दिएको बताउँदै कांग्रेस जनादेशअनुसार अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप संसदीय प्रणालीभित्रै रहेर कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पार्दै थापाले भन्नुभयो “हामी चाहन्छौं कि सरकारले आफ्नो म्यान्डेटअनुसार जिम्मेवारी पूरा गरोस् ।”

थापाका अनुसार लोकतन्त्रमा प्रतिपक्षको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। प्रतिपक्षले प्रभावकारी रूपमा काम नगरे सरकारलाई जवाफदेही बनाउँदै परिणाममुखी कार्यसम्पादनतर्फ लैजान कठिन हुने उनले बताउदै “प्रतिपक्षको काम प्रश्न गर्ने, खबरदारी गर्ने, आवश्यक पर्दा तिवाद गर्ने र वैकल्पिक उपाय प्रस्तुत गर्ने हो” भन्नुभयो ।

आगामी पाँच वर्षसम्म कांग्रेसले सभ्य, संयमित र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै उहाँले सरकारलाई कांग्रेसको विनम्रतालाई कमजोरीका रूपमा नलिन आग्रह गर्नुभयो।

सभापति थापाले भन्नुभयो, “हामी नम्र छौं, तर कमजोर होइनौं। हामी दृढ र सहयोगी छौं। तर, हाम्रो जायज आवाज सुन्ने विषयमा हामी स्पष्ट छौं । जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ ।”

समारोहमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय परिषद्का अध्यक्ष योगेन्द्र कुँवरले सरकार श्रमिकका माग सुनुवाइ गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा विभिन्न राष्ट्रबाट आएका श्रमिक अगुवाले श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र र श्रमिक सङ्गठनबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको थियो ।

कार्यक्रमका वक्ताहरूले श्रमिक अधिकार, सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, सुरक्षित काम गर्ने वातावरण र ट्रेड युनियनको भूमिकाबारे आआफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.