‘तपाईं मेरो वास्तविक बुबा हुनुहुन्न’ भनेपछि छोराको हत्या
क्योटोको नान्तान सहरको एउटा वन क्षेत्रमा गत अप्रिलमा ११ वर्षीय अदाची युकीको शव फेला परेको थियो। सो हत्या मृतककै ‘धर्म बाबु’ले गरेको अभियोगमा ३७ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ ।
उनीमाथि मार्च २३ बिहान शहरको एउटा सार्वजनिक शौचालयमा छोराको घाँटी थिचेर हत्या गरेको आरोप छ। यसअघि अप्रिलमा उनलाई छोराको शव बेवारिसे अवस्थामा फालेको आशंकामा पक्राउ गरिएको थियो।
अभियुक्तले प्रहरीलाई बताएअनुसार सो बिहान उनले युकीलाई विद्यालय लैजान भनी गाडीमा राखेका थिए, तर उनलाई विद्यालयमा छाडेनन्। त्यसको सट्टा, उनले बालकलाई सार्वजनिक शौचालयमा लगेर हत्या गरे।
पहिलो पटक पक्राउ पर्नुअघि भएको स्वेच्छिक सोधपुछका क्रममा बुबाले भनेका थिए कि युकीले ‘तपाईं मेरो वास्तविक बुबा हुनुहुन्न’ भनेपछि उनी निकै आक्रोशित भएका थिए। ती व्यक्तिले गत वर्ष बालककी आमासँग विवाह गरेपछि युकीलाई कानुनी रूपमा धर्मपुत्र स्वीकार गरेका थिए।
प्रहरीले बाबु-छोराको सम्बन्ध लगायतका विषयमा थप अनुसन्धान गर्दै यो अपराध गर्नुको वास्तविक कारण खोजिरहेको जनाएको छ।





प्रतिक्रिया राख्नुहोस्