एमाले केन्द्रीय सचिवालय बैठक सर्यो, पार्टीभित्र शक्ति संघर्ष चुलिएको आशंका
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक फेरि सरेको छ । शनिबार बस्ने तय गरिएको बैठक अब सोमबारका लागि सारिएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिनुभएको छ । बैठकमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने बताइएको छ ।
गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा राज्यले हेलचेक्र्याइँपूर्वक नागरिकमाथि दमन गरेको आरोपबीच ओली पक्राउ पर्नुभएको थियो ।
सोही बेला उहाँको स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उहाँको पित्तथैलीको शल्यक्रिया गरिएको थियो । लामो समयको अस्पताल बसाईपछि अदालतको आदेशमा ओली घर फर्कनुभएको थियो ।
आन्दोलनकारीमाथि बल प्रयोग र मृत्युका घटनापछि तत्कालीन सरकार तथा त्यसको नेतृत्व गरिरहेको एमालेप्रति तीव्र जनआक्रोश देखिएको थियो । विशेष गरी युवापुस्ताले सामाजिक सञ्जाल र सडक आन्दोलनमार्फत सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए ।
चैत २६ गते रिहा भए पनि स्वास्थ्य अवस्थाका कारण ओली सक्रिय राजनीतिमा पूर्ण रूपमा सक्रिय हुनसक्नु भएको छैन । ओली हिरासतमा रहँदा वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो । थापाकै अध्यक्षतामा दुई पटक सचिवालय बैठक बसेको थियो ।
ओली निष्क्रियजस्तै बनेपछि एमालेभित्र शक्ति सन्तुलनको नयाँ बहस सुरु भएको छ । पार्टीभित्र नेतृत्व हस्तान्तरण, उत्तराधिकारी खोजी र आगामी राजनीतिक रणनीतिबारे नेताहरूबीच आन्तरिक छलफल तीव्र बनेको स्रोतहरूको दाबी छ ।
उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र पृथ्वी सुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेल लगायत ओली निकट मानिएका नेताहरू समेत वैकल्पिक नेतृत्वको खोजीमा देखिन थालेको चर्चा एमाले वृत्तमा छ ।
निर्वाचन परिणामको समीक्षा हुन नसक्नु, पार्टी कमिटीहरू लामो समय निष्क्रिय रहनु र शीर्ष तहमा बढ्दो अविश्वासका कारण एमालेभित्र असन्तुष्टि बढिरहेको बताइन्छ । असन्तुष्ट समूहले ओली पार्टीभित्र अप्ठ्यारोमा परेपछि बैठक पटक–पटक सार्दै आएको आरोपसमेत लगाउँदै आएका छन् ।
यद्यपि सचिवालय बैठक पुनः आह्वान भएसँगै लामो समयदेखि देखिएको आन्तरिक गतिरोधले केही निकास पाउने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया राख्नुहोस्