सडक सुरक्षामा ध्यान दिन सांसद कार्कीको माग
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तोसिमा कार्कीले दैनिक औसत आठ जना नेपालीको सडक दुर्घटनामा परी ज्यान जाने गरेको अवस्था रहेकाले सडक सुरक्षालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको विशेष समयमा उहाँले पछिल्लो १० वर्षमा २४ हजार ९५ नेपालीको मृत्यु हुनु दुःख भएको भन्दै सडक सुरक्षा सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सांसद कार्कीले सडक सुरक्षा विधेयक अगाडि बढ्न नसकेको भन्दै त्यसलाई अघि बढाएर सडक यातायातलाई सुरक्षित बनाउनुपर्ने माग गर्नुभयो । साथै, एकीकृत ट्रमा नीति आवश्यक भएको भन्दै उहाँले सातै प्रदेशका ट्रमा सेन्टर चलाउनुपर्ने माग राख्नुभयो ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुन सुरु हुन लागेकाले विपद् जोखिमको पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले जति बेला समस्या पर्यो, त्यति बेला हतारिएर काम गर्ने चलन भएकाले वर्तमान सरकारलाई अहिलेदेखि तयारी गर्न आग्रह गर्नुभयो । सांसद केसीले विपद् आउनुअघि पूर्व सूचना प्रणाली व्यवस्थापनका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद पद्यमा अर्यालले देशभर रोपाइँको समय भएकाले तत्काल मल आपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । खेती गर्ने समय भए पनि अहिलेसम्म मल आपूर्ति नहुँदा किसान मल खोज्न भौतारिएका भन्दै मल नपाएर खेतबारी बाझो हुने अवस्था आउन नहुनेमा जोड दिनुभयो ।
सांसद अर्यालले मल आपूर्ति नभएकाले भोलिका दिनमा खाद्यान्न उत्पादनमा कमी आउन सक्नेचर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । देशभर तत्काल मलको आपूर्ति गर्न, मूल्य वृद्धिले महँगीको मारमा परेका नागरिकको घरमा चुलो बल्न छाडेको अवस्था गम्भीर भएको भन्दै उहाँले महँगी नियन्त्रण गर्त तथा बजार अनुगमनमा गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद गोपाल शर्माले विसं २०८०मा रुकुम-पश्चिम, जाजरकोट, डोटी, दैलेखलागयत जिल्लामा आएको भूकम्पबाट प्रभावित भएका नागरिक तीन वर्ष बितिसक्दा पनि राज्यले ध्यान नदिएकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले तत्काल भूकम्प पीडितको आवास निर्माण गर्नुपर्ने माग गर्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्