संसद्मा बोलेर मात्रै बाँदर आतङ्क हट्ने छैन, प्रविधिको विकास गर्नुपर्छ
स्वतन्त्र सांसद महावीर पुनले बाँदर आतङ्क रोक्न संसद्मा बोलेर मात्रै नहुने भन्दै प्रविधि विकासका लागि लगानी गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै सांसद पुनले बाँदर भगाउने प्रविधिको विकास गर्न राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धानको प्रयास गरेको जानकारी पनि दिनुभयो ।
उहाँले भन्नुभयो, “बाँदर भगाउने प्रविधि विश्वभर अझै पत्ता लागेको छैन, अनुसन्धानका लागि खर्च छुट्टयाउनुपर्छ, बाँदर आतङ्क न्यूनीकरण गर्न सरकारले समिति गठन गर्न लागेको सुनेको छु, त्यो टिममा मलाई पनि राख्न भनेको छु, संसद्मा बोलेर मात्रै त्यसखालको आतङ्क हट्ने छैन ।”
यसै गरी बैठकको विशेष समयमा सांसदहरूले टयाक्सीको ‘नम्बरप्लेट’ वितरणमा भइरहेको अनियमितता रोक्न, भूपू सैनिकको समस्या समाधानमा कूटनीतिक प्रयास गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले भूतपूर्व बेलायती गोर्खा सैनिकका सन्ततिलाई वंशजका आधारमा नेपाली नागरिकता दिन माग गर्नुभयो ।
“वर्षौदेखि समान पेन्सन र अन्य सेवासुविधाको माग गर्दै आन्दोलनरत भूपू सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गरिदिन माग गर्दछु”, उहाँले भन्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद खुश्बु ओलीले केन्द्रलाई बलियो बनाउने र स्थानीय तहलाई कमजोर बनाउने गरी सरकार अघि बढ्न नहुने धारणा राख्नुभयो । वित्तीय समानीकरण अनुदानलाई खर्च कटौती गर्ने सजिलो शीर्षकका रूपमा नहेर्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “यदि सरकार वास्तवमा जनताको आवाज प्रतिनिधित्व गर्ने र वित्त सुशासन दिने दाबी गर्छ भने सबैभन्दा पहिलो वित्तीय सङ्घीयताको सम्मान गर्नुपर्छ।”
बैठकमा सभामुख डोलप्रसाद अर्यालले आजको सदनका आकस्मिक समयमा सांसदहरू उठाउनुभएका विपषमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्