कामपामा एक सय ५४ जना मेलमिलापकर्ता सूचीकृत
काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमार्फत विवाद निरुपण र स्थानीय तहका समस्या समाधान गर्न सूचीकृत १५४ जना मेलमिलापकर्ता तयार गरेको छ ।
कामपाका निर्देशक वसन्त आचार्यले मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा अपेक्षासहित १५४ जना तयार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा अपेक्षा गरेका छौँ । कति सङ्ख्यामा मेलमिलापका सत्र सञ्चालन भए, त्यो नतिजा होइन । सत्रबाट कतिवटा विवादको मेलमिलाप भयो । त्यो नतिजा हो ।”
स्थानीय सरकारमा न्यायिक निरुपणको गहन जिम्मेवारी भएको उल्लेख गर्दै वडा तहबाटै विवाद समाधान गराउने लक्ष्य पूरा गर्न वडा कार्यालयहरूमा मेलमिलाप कक्ष स्थापना गरिएको छ ।
महिला सञ्जाल गठन विवादको त्यहीँ छलफल हुने वातावरण सृजना गरिएको छ । मेलमिलापबाट दुवै पक्षको गुम्ने कम र प्राप्त गर्न धेरै हुनुपर्ने बताउँदै वडाबाट स्थानीयवासीलाई यो पक्षमा नियमित सचेत गराइरहनुपर्ने बताउनुभयो । विवादका पक्षलाई यो अनुभूति भएपछि मेलमिलापको वातावरण सहज हुने उहाँले भन्नुभयो ।
मेलमिलाप र यसका चरण
सुरुमा मेलमिलापका माध्यमबाट पक्षविपक्षलाई सहमत गराउन प्रयास हुन्छ । यदि मेलमिलापमा पक्षविपक्ष राजी भएनन् भने वा मुद्दाको किनारा लगाउन मेलमिलापको विधि उपयुक्त देखिएन भने पनि थप प्रक्रियामा अघि बढाइन्छ ।
दुवै पक्षको हित र जित हुने, चाहना मिल्ने तथा सम्बन्ध सुधारिने भए मेलमिलाप गराइन्छ । यदि मेलमिलाप भएर पनि पक्षविपक्षबीच सम्बन्ध सुमधुर हुने देखिएन भने मेलमिलाप गराउनु हुँदैन । सामाजिक (वितरणमुखी) न्याय, हित, जित, प्राप्ति र सम्बन्ध सुधार मेलमिलापका लाभ हुन् ।
दोस्रो चरणमा आधारभूत नियम तथा मेलमिलाप अवधिमा गर्नुहुने–नहुने नियम बनाइन्छ । तेस्रो चरणमा घटनाको विवरण प्रस्तुत गर्ने तथा घटनासम्बन्धी सूचना सङ्कलन गर्ने गरिन्छ ।
चौथो चरणमा विवादका विषय पहिचान गरिन्छ । पाँचौँ चरणमा विवाद भएका विषय मिलाउन विकल्पको पहिचान गरिन्छ । छैटौँ चरणमा सामूहिक वा एकान्त वार्ता गरिन्छ र अन्त्यमा सहमति वा असहमति जे भए पनि समापन गरिन्छ ।
सानातिना विवाद लिएर अदालतमा जाँदा समय धेरै लाग्ने, खर्च धेरै लाग्ने, प्रक्रिया झन्झट हुने भएकाले मानिसहरू न्यायका लागि अदालत जान चाहँदैनन् । त्यसैले, समस्या भएका तर समाधानका लागि अदालत जान नचाहनेहरूका लागि मेलमिलाप केन्द्र उपयुक्त विकल्प बन्न सक्छ ।




प्रतिक्रिया राख्नुहोस्