आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा बनाएको दोस्रो ठूलो स्कोर हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनायो । कीर्तिपुर मैदानमा यो नेपालको अहिलेसम्मकै उच्च योगफल बनेको छ ।
यसअघि नेपालले सन् २०२३ को एसीसी प्रिमियर कपमा ओमानविरुद्ध ३१० रन बनाएको थियो । घरेलु मैदानमा लगातार आक्रामक र आत्मविश्वासी ब्याटिङ प्रदर्शन गर्न सकेको नेपालले विश्वकप छनोट यात्रामा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ ।
नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले शानदार अर्धशतक प्रहार गरे । इशानले ८३ बलमा ८ चौका र एक छक्कासहित ८४ रन बनाए । उनले लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै टोलीको मध्यक्रमलाई मजबुत बनाएका हुन् ।
इशानले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ११० रनको महत्वपूर्ण साझेदारी गरे । कप्तान रोहितले ५९ बलमा ४६ रन बनाए । त्यसअघि ओपनर आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको सानदार सुरुआत दिलाएका थिए । आसिफले ४३ तथा कुशलले २९ रन जोडे ।
अन्तिम ओभरतिर दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै अमेरिकामाथि दबाब बढाए । उनले मात्र ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए ।
गुल्सन झा १५, नन्दन यादव १ तथा सोमपाल कामी ५ रनमा आउट हुँदा आरिफ शेख १७ रनमा अविजित रहे । अमेरिकाका लागि शुभम रन्जानेले २ विकेट लिए भने मिलिन्द कुमार र रुशिल उगारकरले समान एक–एक विकेट लिए ।
नेपालले बनाएको ३१७ रनको विशाल योगफल केवल कीर्तिमानी स्कोर मात्र होइन, विश्वकप लिग–२ को प्रतिस्पर्धात्मक समीकरणमा पनि महत्वपूर्ण मानिएको छ ।
आजको खेलमा जित निकाल्न सके नेपालले अंक तालिकामा थप मजबुत स्थान बनाउनेछ भने नेट रनरेटमा पनि उल्लेखनीय सुधार हुने सम्भावना छ ।
विशेष गरी शीर्ष टोलीहरूसँगको प्रतिस्पर्धा तीव्र भइरहेको अवस्थामा घरेलु मैदानमा अमेरिकाजस्तो बलियो टोलीविरुद्ध ठूलो अन्तरको जित निकाल्न सके नेपालको विश्वकप छनोट यात्रा थप सहज बन्न सक्छ । यसले टोलीको आत्मविश्वास बढाउनुका साथै आगामी खेलका लागि दबाब पनि कम गर्ने विश्लेषण गरिएको छ ।
पछिल्ला खेलहरूमा नेपाली ब्याटिङ क्रमले देखाएको निरन्तर सुधार र मध्यक्रमको स्थिर प्रदर्शनले नेपाललाई केवल प्रतिस्पर्धी मात्र होइन, विश्वकप यात्राको गम्भीर दाबेदारका रूपमा स्थापित गर्न थालेको छ ।




प्रतिक्रिया राख्नुहोस्