प्रबास

पोर्चुगलको तीन सहरमा घुम्ती शिविर सञ्चालन हुँदै

लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा, मदेइरा र अजोरेसमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । राजधानी लिस्बनदेखि टाढा बसोबास गर्ने नेपालीलाई लक्षित गरी तीनवटा सहरमा घुम्ती सेवा सञ्चालन गर्न लागेको दूतावासले जनाएको छ ।

दूतावासका प्रथम सचिव रामबाबु नेपालका अनुसार कोइम्ब्राको मरिन्हा दास ओन्दासमा यही जेठ ९ र १० गते, मदेइराको फुन्चालमा जेठ २२ र २३ गते र अजोरेसको पोन्टा डेलगाडामा आगामी असार ६ र ७ गते शिविर सञ्चालन हुने कार्यक्रम छ ।

सो अवसरमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा)सम्बन्धी सेवा प्रदान गरिने छ । त्यसैगरी, दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा म्याद एक वर्षभन्दा कम भएकाहरूको विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्ने छ ।

साथै राहदानी नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र, पारिवारिक कागजात तथा शैक्षिक प्रमाणपत्र प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रदान गरिने दूतावासले स्पष्ट गरेको छ ।

यसै सन्दर्भमा पोर्चुगलस्थित नेपाली दूतावासले तीनवटा सहरमा शिविर सञ्चालन गर्न लागिएको जानकारी दिँदै यसलाई अवसरका रुपमा लिई लाभान्वित हुन सम्बद्ध सबैसँग अनुरोध गरेको छ ।

सो दूतावासले यसअघि पोर्चुगलको फारो, मदेइरा, पोर्तो र ओदिमिरामा घुम्ती शिविर सञ्चालन गरी सेवा प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.