राजनीति

धवलशमशेर राणा राप्रपाबाट अलग, नयाँ राष्ट्रवादी अभियान घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गर्दै नयाँ राष्ट्रवादी अभियान सुरु गर्ने घोषणा गर्नुभएको छ।

आइतबार जारी विज्ञप्तिमार्फत उहाँले राप्रपासँगको आफ्नो औपचारिक सम्बन्ध अन्त्य गर्दै नयाँ राजनीतिक यात्राको सुरुआत गर्न लागिएको जानकारी दिनुभएको हो।

राणाले राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध गर्दै देशको राजनीतिक भविष्यलाई नयाँ दिशा दिने उद्देश्यका साथ आगामी बाटो तय गरिएको बताउनुभएको छ।

उहाँले वर्तमान राजनीतिक अवस्थाले नयाँ सोच, नयाँ नेतृत्व र राष्ट्रहितप्रति प्रतिबद्ध शक्तिहरूको आवश्यकता महसुस गराएको उल्लेख गर्दै त्यसकै आधारमा नयाँ अभियान अघि बढाउन लागिएको जनाउनुभएको छ।

उहाँले विशेषगरी युवा पुस्तालाई अभियानमा सहभागी हुन आह्वान गर्दै राष्ट्र निर्माणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ। देशको भविष्य सुनिश्चित गर्न सक्षम, ऊर्जाशील र राष्ट्रप्रति समर्पित युवाशक्तिको योगदान अपरिहार्य रहेको उहाँको भनाइ छ।

राणाले राप्रपामा आबद्ध नेता तथा कार्यकर्ताप्रति कुनै प्रकारको असन्तुष्टि वा वैरभाव नरहेको स्पष्ट पार्नुभएको छ। पार्टीमै रहने निर्णय गरेका साथीहरूप्रति सम्मान व्यक्त गर्दै उहाँले आफ्नो नयाँ अभियानमा सहभागी हुन चाहने राष्ट्रवादी विचारधाराका व्यक्तिहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ।

जारी विज्ञप्तिमा उहाँले भन्नुभएको छ, “राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ भने त्यतै रहन शुभकामना छ। कुनै वैरभाव छैन। यदि स्वच्छ मन, आत्मीय सम्बन्ध र हाम्रा साझा मान्यताहरूलाई सही लक्ष्यतर्फ अघि बढाउने चाहना छ भने सबै राष्ट्रवादी मित्रहरूलाई एकजुट भएर अघि बढ्न हार्दिक आह्वान गर्दछु।”

राणाको यो निर्णयले राप्रपाभित्र नयाँ राजनीतिक बहस सुरु हुने अनुमान गरिएको छ। लामो समयदेखि पार्टीको नेतृत्व तहमा सक्रिय रहँदै आएका राणाले पार्टी छाडेर नयाँ अभियान घोषणा गरेपछि राष्ट्रवादी राजनीतिक धाराभित्र नयाँ समीकरण बन्न सक्ने चर्चा समेत सुरु भएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.