जोर्तीघाटमा झोलुङ्गे पुल निर्माणः तीन जिल्लाका स्थानीयलाई सहज
दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल ज्योर्तीघाटमा एकैसाथ दुई वटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । पुल संचालनमा आएसंगै तीन जिल्लाका स्थानीयलाई सहज भएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका-१४ लेखानीलाई जोड्ने गरी दूधकोशी र सुनकोशीमा दुई वटा झोलुङ्गे पुल निर्माण गरिएको हो ।
जोर्तीघाटमा निर्माण गरिएका झोलुङ्गे पुल सञ्चालनमा आएपछि तीन जिल्लाका नागरिकलाई सहज रूपमा आवागमन गर्ने वातावरण बनेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले बताउनुभयो ।
“पुलले पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ । पुल सञ्चालनसँगै खोटाङ, ओखलढुङ्गा र उदयपुरका स्थानीयलाई आवतजावतमा सहज भएको छ”, उहाँले भन्नुभयो ।
पुल सञ्चालन भएपछि विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुगेको नगरप्रमुख राईको भनाइ छ । तीन जिल्लाको सङ्गमस्थल जार्तीघाटमा बनेका यी दुई झोलुङ्गे पुलले विकास, सम्भावना र सामाजिक एकताको नयाँ सेतु निर्माण गरेको उहाँले बताउनुभयो ।
खोटाङ र ओखलढुङ्गा जोड्ने दूधकोशीको पुल १३४ मिटर तथा ओखलढुङ्गा र उदयपुर जोड्ने सुनकोशीको झोलुङ्गे पुल १७८ मिटर लामो छ । विसं २०७९ साउन ६ गते सस्पेन्सन ब्रिज डिभिजन र निर्माण कम्पनी श्री अपर तामाकोशी जेके जेभीबीच सम्झौता भई दुई वटा झोलुङ्गे पुल निर्माण गरिएको नगरप्रमुख राई जानकारी दिनुभयो ।
झोलुङ्गे पुलको औपचारिक उद्घाटन १९औँ गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते गरिएको थियो । दुवै झोलुङ्गे पुल राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई ‘व्याकुल माहिला’को पहलमा निर्माण गरिएको हो ।
पुल उद्घाटन कार्यक्रममा खोटाङका किरात समुदायले साकेला सिली तथा सांस्कृतिक झाँकी प्रस्तुत गर्नुका साथै तीन जिल्लाका स्थानीयले कोशी किनारमा पूजाआजासमेत गरेका थिए ।
दूधकोशी र सुनकोशीको दुईवटा झोलुङ्गे पुल करिब रु तीन करोड ३१ लाख लागतमा निर्माण सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन, पुलचोकका योजना प्रमुख शङ्कर बुढाथोकीले जानकारी दिनुभयो ।
लामो समय डुङ्गाको सहारामा दूधकोशी र सुनकोशी वारपार गर्दै आएका स्थानीय ढिलै भए पनि जोर्तीघाटमा सुविधा सम्पन्न पुल एकैसाथ सञ्चालनमा आएपछि हर्षित भएका छन् । ती पुल सञ्चालनमा भएपछि पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।
“जोर्तीघाटका यी दुई झोलुङ्गे पुलले तीन जिल्लालाई एउटै ठाउँमा जोडेको छ । साथै यी पुल एउटै जीपबाट बनेका छन् । यी दुवै पुलको जीप ओखलढुङ्गातर्फ एउटै छ”, योजना प्रमुख बुढाथोकीले भन्नुभयो ।
उहाँका अनुसार एउटै जीपबाट बनेका दुई वटा झोलुङ्गे पुल एउटाले दूधकोशी नदी पार गर्दै खोटाङ र अर्काेले सुनकोशी नदी पार गर्दै उदयपुरलाई जोडेको छ ।
दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल जोर्तीघाट आसपासको प्राकृतिक सौन्दर्य अवलोकन गर्न दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका स्थानीय बताउँछन् ।




प्रतिक्रिया राख्नुहोस्