विश्व समाचार

हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय

इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको र हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरेको जनाएको छ ।

इरानको अर्धसरकारी समाचार संस्था तस्निमले सोमबार भनेको छ, “गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन ।”

अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको पूर्व सर्तमध्ये एक हो, तर अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लङ्घन गरिएको छ।

इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने र बदलामा बाब अल–मन्डेब घाँटीसहित अन्य विकल्पहरूलाई सक्रिय पार्ने एजेन्डामा रहेको बताएको छ।

इरानका विदेशमन्त्री सइद अब्बास अराघचीले सामाजिक सञ्जालमा एक पोस्टमा इरान र अमेरिकाबीच कुनै पनि मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु सबै मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु बराबर भएको बताउनुभएको छ।

इरानी संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढाएको युद्ध अपराध अमेरिकाले युद्धविरामको पालना नगरेको स्पष्ट प्रमाण भएको बताउनुभएको छ ।

यसैबीच, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाको ‘नयाँ र विरोधाभासी’ मागका कारण युद्ध अन्त्यका लागि भएको वार्ता प्रक्रिया रोकिएको बताउनुभएको छ।

इरान र अमेरिकाबीच ४० दिनको लडाइँपछि अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि उनीहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका भएपनि सहमति हुन सकेको थिएन ।

बितेका हप्ताहरूमा, दुई पक्षले पाकिस्तानको मध्यस्थतामार्फत शान्तिका सर्तहरू उल्लेख गर्दै धेरै प्रस्तावित योजनाहरू आदानप्रदान गरेका थिए र युद्ध अन्त्य गर्ने उद्देश्यका साथ एक समझदारी पत्रलाई अन्तिम रूप दिने काम गरिरहेका थिए ।

इजरायल र लेबनानले अप्रिलको मध्यमा युद्धविराम गरेका थिए तर युद्धविरामका बाबजुद इजरायलले लेबनानमा दैनिक आक्रमण जारी राखेको छ । हेजबुल्लाहले पनि उसको क्षमता अनुसार इजरायली सैन्य चौकीमा आक्रमण सुरु गरेको छ ।

आइतवार इजरायलले दक्षिणी लेबनानको ब्यूफोर्ट रिज कब्जा गरेको दाबी गरेको छ जसमा मध्ययुगीन ब्यूफोर्ट महल इजरायलको नियन्त्रणमा गएको छ । यो इजरायलले लेबनानसँग युद्धविराम पछि कायम गरेको ‘सुरक्षा घेरा’ भन्दा बाहिरको क्षेत्र हो ।

दुई दशकभन्दा बढी समयपछि लेबनानमा इजरायलको यो सबैभन्दा भित्री भागमा भएको आक्रमण हो । यस कदमलाई अरब जगतका साथै फ्रान्स, जर्मनी र बेलायतले निन्दा गरेका छन् ।

यसअघि सोमबार इजरायली प्रधानमन्त्री नेतन्याहु र रक्षामन्त्री इजरायली काट्जले एक संयुक्त वक्तव्यमा बेरुतको दक्षिणी उपनगरमा आक्रमण गर्न सेनालाई आदेश दिएको बताएका थिए । काट्जले पछि दक्षिणी लेबनानको लितानी नदीको क्षेत्रलाई सैन्य नियन्त्रित क्षेत्रमा परिणत गर्ने र हेजबुल्लाहले आक्रमण नरोकेसम्म बेरुतमा आक्रमण जारी राख्ने वाचा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.