जापानमा भालु आक्रमणबाट एक महिलाको मृत्यु, चारजना घाइते
जापानको उत्तरी क्षेत्रस्थित अकिता सहरमा भालुको आक्रमणमा एक वृद्ध महिलाको मृत्यु भएको छ। मंगलबार बिहान उनको शव घरनजिकैको जंगल क्षेत्रमा फेला परेको स्थानीय प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अकिता सहरको कावाबेवाडा क्षेत्रमा बसोबास गर्ने ती महिलाको परिवारले बिहान करिब ७:२० बजे आमामाथि भालुले आक्रमण गरेको हुनसक्ने भन्दै प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले महिलाको घर नजिकै रहेको वन क्षेत्रमा उनको शव फेला पारेको हो।
शव फेला परेको स्थानको आसपासमा भालु देखिएपछि सुरक्षाका लागि प्रहरीले कारबाही गरेको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त भालुलाई बिहान करिब ९:४० बजे मारिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यता, जापानकै उत्तरपूर्वी क्षेत्रस्थित फुकुशिमा सहरमा पनि भालुको आक्रमणबाट चारजना घाइते भएका छन्। मंगलबार बिहान फुकुशिमाको सासाकिनो क्षेत्रमा जंगली भालुले एक कम्पनीको परिसर तथा नजिकैको आवासीय क्षेत्रमा रहेका मानिसमाथि आक्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।
स्थानीय दमकल विभागका अनुसार घाइते भएका चारैजना सचेत अवस्थामा रहेका छन् र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। घाइतेहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ।
आक्रमण भएको क्षेत्र जेआर ओउ मुख्य रेलमार्गअन्तर्गत पर्ने सासाकिनो स्टेशन नजिकै रहेको छ। प्रहरीले गत सातादेखि नै उक्त क्षेत्रमा भालु देखिएको सूचना प्राप्त हुँदै आएको जनाएको छ।
हालसम्म आक्रमणकारी भालु नियन्त्रणमा आउन नसकेकोले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ। प्रहरी तथा सम्बन्धित निकायले स्थानीय बासिन्दालाई प्रभावित क्षेत्रमा नजान र विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
हालका वर्षहरूमा जापानका विभिन्न क्षेत्रमा जंगली जनावर, विशेषगरी भालु, मानव बस्ती नजिक देखिन थालेका छन्। वन क्षेत्रमा खाद्यान्न अभाव, बासस्थानमा परिवर्तन तथा मानव गतिविधिको विस्तारका कारण यस्ता घटना बढ्दै गएको विज्ञहरूले बताएका छन्।




प्रतिक्रिया राख्नुहोस्