नेपाल आगामी सेप्टेम्बर महिनामा जापानमा हुने एसियाली खेलकूद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ। महिला टोली भने उक्त प्रतियोगितामा छनोट हुन असफल रह्यो ।
मलेसियामा जारी छनोट प्रतियोगितामा मंगलबार घरेलु टोली मलेसियाले चीनलाई नौ विकेटले पराजित गरेपछि नेपालको एसियन गेम्स यात्रा औपचारिक रूपमा सुनिश्चित भएको हो। नेपालले आफ्नो पहिलो खेलमा चीनमाथि २२१ रनको फराकिलो जित दर्ता गरेको थियो।
जितका लागि ८५ रनको सामान्य लक्ष्य पछ्याएको मलेसियाले ७.५ ओभरमै एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सकेको थियो।
यस जितसँगै मलेसियाले पनि समूहबाट एसियाली खेलकूदमा स्थान सुरक्षित गरेको छ। लगातार दोस्रो हार बेहोरेको चीन भने प्रतियोगिताबाट बाहिरिएको छ।
अब समूह चरणको अन्तिम खेलमा नेपाल र मलेसियाबीच बिहीबार प्रतिस्पर्धा हुनेछ। दुवै टोली यसअघि नै छनोट भइसकेकाले उक्त खेल समूह विजेताको टुंगो लगाउने अवसरका रूपमा रहनेछ।
समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेका छन्। प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली एसियन गेम्सका लागि छनोट हुने प्रावधान छ।




प्रतिक्रिया राख्नुहोस्