नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा, जापानको थप ५ अर्ब ५० करोड रुपैयाँ ऋण सहयोग
नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजना सम्पन्न गर्न जापान सरकारले थप ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ।
आयोजना निर्माणका क्रममा बढेको लागत र बजेट अभावलाई सम्बोधन गर्न जापानले उक्त अतिरिक्त वित्तीय सहायता दिने निर्णय गरेको हो। यससँगै नागढुंगा सुरुङमार्ग आयोजनाका लागि जापान सरकारको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख जापानी येन पुगेको छ।
यसअघि वि.सं. २०७३ सालमा नेपाल सरकार र जापान सरकारबीच १६ अर्ब ६३ करोड ६० लाख येन ऋण सहयोग सम्बन्धी सम्झौता भएको थियो। आयोजनाका लागि नेपाल सरकारदे ६ अर्ब रुपैयाँ लगानी गरेको छ ।
थप ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले हस्ताक्षर गर्नुभयो।
नेपाल र जापानबीचको दीर्घकालीन विकास साझेदारीअन्तर्गत उपलब्ध गराइएको यो सहयोगले राष्ट्रिय गौरवका पूर्वाधार आयोजनाको सफल कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
वि.सं. २०७६ कात्तिकदेखि निर्माण सुरु भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग हाल अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार समग्र निर्माण प्रगति ९८ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।
अहिले सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तयारी र जनशक्ति व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ। सुरुङ सञ्चालन तथा व्यवस्थापनका लागि करिब १५० जना जनशक्तिलाई विशेष तालिम प्रदान गर्ने कार्य जारी रहेको आयोजनाले जनाएको छ।
आयोजना अन्तर्गत मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ८८ मिटर रहेको छ भने आपत्कालीन उद्धार तथा सुरक्षाका लागि निर्माण गरिएको सहायक सुरुङ २ हजार ५ सय ५७ मिटर लामो छ।
सुरुङमार्गमा आधुनिक भेन्टिलेसन प्रणाली, अग्नि सुरक्षा प्रणाली, निगरानी क्यामेरा, आपत्कालीन सञ्चार प्रणाली तथा ट्राफिक व्यवस्थापनका अत्याधुनिक प्रविधि जडान गरिएका छन्।
सुरुङ निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो। निर्माण अवधिमा कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्यवृद्धि, ढुवानी लागतमा वृद्धि तथा विभिन्न प्राविधिक जटिलताका कारण आयोजनाको लागत अनुमान बढेको थियो। यही कारण आवश्यक अतिरिक्त बजेट व्यवस्थापनका लागि जापान सरकारले थप ऋण सहायता उपलब्ध गराएको हो।
काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वार मानिने नागढुंगा क्षेत्रमा दैनिक हुने सवारी जाम, यात्रामा हुने समयको बर्बादी तथा इन्धन खपतलाई घटाउने लक्ष्यसहित निर्माण भइरहेको यो सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
सुरुङ सञ्चालनमा आएपछि काठमाडौं र देशका विभिन्न भागबीचको सडक यातायात थप सहज, सुरक्षित र भरपर्दो बन्ने अपेक्षा गरिएको छ।
विशेष गरी त्रिभुवन राजपथ हुँदै राजधानी प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनका लागि यात्रा समय उल्लेखनीय रूपमा घट्ने, यातायात खर्च कम हुने र व्यापारिक गतिविधिमा सहजता आउने विश्वास गरिएको छ।
साथै धादिङ र काठमाडौं आसपासका क्षेत्रको आर्थिक गतिविधि विस्तार हुनुका साथै पर्यटन, व्यापार तथा लगानी प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
नेपालको सडक पूर्वाधार विकासमा कोशेढुंगा मानिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि देशमा आधुनिक सुरुङमार्ग निर्माणको नयाँ अध्याय सुरु हुने र आगामी दिनमा अन्य पहाडी सडक आयोजनाका लागि समेत मार्गदर्शन बन्ने सरकारी अपेक्षा रहेको छ।




प्रतिक्रिया राख्नुहोस्