मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार बिहान भएको खेलमा भुटानलाई ५१ रनले पराजित गर्दै नेपाल लगातार दोस्रो जित हासिल गरेको हो ।
जितसंगै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभर सबै विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले सर्वाधिक ३७ रन बनाइन् भने रुबिना क्षेत्रीले २४ रन जोडिन् । यी दुईले आठौं विकेटका लागि ४० रनको साझेदारी गरेका थिए ।
त्यस्तै सोनी पाख्रीनले १३ रन जोड्दा सम्झना खड्काले १० रन बनाइन् । भुटानका लागि छिरिङ ज्याङ्बो र सोनामले समान तीन-तीन विकेट लिए भने कप्तान अञ्जु गुरुङले दुई विकेट लिँदा रित्शी चोदेन र रिया प्रधानको भागमा समान एक-एक विकेट रह्यो ।
नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो । भुटानका लागि देन्छि वाग्मोले ३९ र छादो ओमले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि रुबिना क्षेत्रीले तीन विकेट लिए भने रिया शर्माले दुई विकेट लिँदा कविता कुवँर र मनिष उपाध्यायको भागमा समान एक-एक विकेट रह्यो ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा जेठ २३ गते हङकङसँग खेल्नेछ । प्रतियोगितामा नेपाल सहित १८ देशको सहभागीता रहेको छ । एसिया कपको छनोटको रुपमा रहेको प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा कतार, हङकङ तथा भुटान रहेका छन् ।
यस प्रतियोगितामा सहभागी १८ राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ । एसिसीका अनुसार समूह ‘ए’ मा थाइल्याण्ड, म्यानमार, जापान, बहराइन, मंगोलिया रहँदा समूह ‘बी’ मा युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब तथा समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहेका छन् ।
चार क्वार्टरफाइनल खेलका विजेताले यसै वर्षमा आयोजना हुने एसिसी एसिया कपमा स्थान बनाउने छन् ।




प्रतिक्रिया राख्नुहोस्