क्रिकेटखेल

कुशल भुर्तेलको शतकीय पारीमा नेपालद्वारा मलेसिया सामू २७६ रनको लक्ष्य

ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकीय पारीमा एसियन गेम्स पुरुष क्रिकेट छनोट खेल अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसिया सामू जितको लागि २ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिंगापुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७५ रनको विशाल योगफल तयार पारेको हो ।

नेपालका लागि ओपनर कुशलले ५४ बलमा १४ चौका र ६ छक्काको सहयोगमा १ सय २६ रनको शतकीय पारी खेले भने अर्का ओपनर आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्काको मद्दतमा ६८ रन्को अर्धशतकीय पारी खेले । यी दुईले पहिलो विकेटको लागि ५२ बलमा १३४ रनको शतकीय साझेदारी गरेका थिए ।

त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३१ रन जोड्दा सन्दीप जोराले १५, लोकेश बमले १०, तथा कुशल मल्ल ८ रनमा अविजित रहे । यस्तै करण केसीले ७ रन जोड्दा सोमपाल कामी एक यानमा अविजित रहे । मलेसियाको लागि विरनदीप सिंहले तीन विकेट लिए भने विजय उन्नी र सईद अजिजको भागमा समान दुई-दुई विकेट रायो ।

नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा तीन शतक प्रहार गर्ने कुशल पहिलो नेपाली खेलाडी बने । योसँगै भुर्तेलले दीपेन्द्रसिंह ऐरीलाई पछि टी-२० अन्तर्राष्ट्रियमा धेरै रन हान्ने सूचीको पहिलो नम्बरमा रहेका छन् । कुशलले २ हजार २४० रन हान्दा दीपेन्द्रले २ हजार २११ रन प्रहार गरेका छन् ।

कुशलको टी-२o अन्तर्राष्ट्रियमा यो लगातार दोस्रो शतक हो । उनी यो सफलता प्राप्त गर्ने पहिलो नेपाली क्रिकेटर हुन् । कुशलले जारी प्रतियोगिता अन्तर्गत नै चीनसँगको खेलमा पनि शतक बनाएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.