जन सरोकार

फुल्चोकीमा अलपत्र तीन जनाको उद्धार

ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी क्षेत्रमा घुम्न गएका तीन जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

काठमाडौँ महानगरपालिका–२२ का एक पुरुष र दुई महिला फुल्चोकी भ्रमणपछि फर्किने क्रममा बाटो भुलेर जङ्गलमा अलपत्र परेको अवस्थामा आइतबार प्रहरीले उद्धार गरेको हो ।

उनीहरू हराएको सूचना जिल्ला प्रहरी परिसर ललितपुरको परिचालन कक्षमा प्राप्त हुनासाथ तत्काल उद्धार टोली परिचालन गरिएको परिसरका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रहरी टोलीले खोजी अभियान सञ्चालन गरी अलपत्र परेका तीनै जनालाई सकुशल उद्धार गरेको थियो । प्रहरी उपरीक्षक मिश्रका अनुसार पछिल्ला दिनमा साप्ताहिक बिदाको अवसर पारेर फुल्चोकी क्षेत्र घुम्न जाने र घना जङ्गलमा बाटो बिराएर अलमलिने घटना बढेका छन् । शनिबार पनि फुल्चोकी क्षेत्रमा बाटो भुलेका चार जनाको प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको थियो ।

प्रहरीले फुल्चोकीलगायत जङ्गल तथा पदयात्रा गर्दा समूहमा जान, आवश्यक सामग्री साथमा राख्न तथा निर्धारित बाटो मात्र प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.