प्रदेशराजनीतिलुम्बिनी

लुम्बिनी मन्त्रिपरिषद् पुनर्गठन, एमाले–जसपाबाट पाँच मन्त्री नियुक्त

लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम एक साताअघि मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो ।

पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले)बाट चारजना र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट एकजना गरी पाँचजना मन्त्री नियुक्त हुनुभएको हो ।

नवनियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे र रत्नबहादुर खत्री तथा जसपाबाट भण्डारीलाल अहिर रहनुभएको छ ।

चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य मन्त्रालय र खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.