बिशेषराजनीति

प्रधानमन्त्री शाहद्वारा निर्मल पुर्जासहित ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०५१ मिटर) आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित अन्य आरोहीप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै ब्रोड पिक आरोहणका क्रममा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासहित नेपाली आरोही पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा तथा चार विदेशी आरोहीको हिमपहिरोमा परी भएको दुःखद निधनले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ।

विश्व पर्वतारोहण क्षेत्रमा नेपाललाई नयाँ उचाइमा पुर्‍याउने व्यक्तित्वका रूपमा परिचित निर्मल पुर्जाले सन् २०१९ मा विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल मात्र ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको थियो।

उहाँले पछि जाडो याममा विश्वका सबै १४ वटा आठ हजारे हिमाल आरोहण गर्ने अभियानमा पनि महत्वपूर्ण सफलता हासिल गर्दै नेपाली पर्वतारोहणको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप उँचो बनाउन योगदान दिनुभएको थियो।

प्रधानमन्त्री शाहले दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभएको छ, “दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्र रोकिएको हो, उहाँहरूको साहस, समर्पण, व्यावसायिक उत्कृष्टता र नेपालको पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदान भने सधैँ प्रेरणाको स्रोतका रूपमा जीवित रहनेछ।”

प्रधानमन्त्री शाहले पर्वतारोहण केवल हिमालको शिखर चुम्ने यात्रा मात्र नभई साहस, अनुशासन, त्याग, धैर्य र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गर्दै दिवंगत आरोहीहरूले नेपालको पर्वतारोहण इतिहासमा अमिट छाप छाडेको बताउनुभएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.