अर्थमन्त्री दोषी देखिए राजद्रोहको मुद्दा लगाउनुपर्छ : सांसद शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आर्थिक विधेयकमा हेरफेर गरी गम्भीर अपराध गरिएको आरोप लगाउँदै अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न माग गर्नुभएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले सरकारले प्रस्तुत गरेको बजेट तथा आर्थिक विधेयकमा छेडछाड भएको दाबी गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले माथि निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। छानबिनबाट दोषी ठहरिए राजद्रोहको मुद्दासमेत चलाउनुपर्ने उहाँको भनाइ थियो।
सांसद शाहीले संसद्मा प्रस्तुत आर्थिक विधेयकमा स्वार्थअनुसार परिवर्तन गरिएको आरोप लगाउँदै यस्तो कार्यले राज्य व्यवस्था र जनविश्वासमाथि आघात पुगेको बताउनुभयो।
उहाँले देशको वर्तमान अवस्थाका लागि गाउँका किसान वा सामान्य नागरिक नभई सत्तामा पुगेका व्यक्तिहरू जिम्मेवार रहेको टिप्पणी गर्नुभयो।
करका दर हेरफेरको विषय सीमित व्यक्तिलाई मात्र जानकारी हुने दाबी गर्दै शाहीले भन्सार छलीसम्बन्धी प्रकरणमा पनि गम्भीर प्रश्न उठाउँदै घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो।
उहाँले भन्नुभयो, “करका दर हेरफेरबारे सचिवलाई समेत जानकारी हुँदैन। अर्थमन्त्री र उहाँले तोकेका व्यक्तिहरूलाई मात्र जानकारी हुन्छ। सूचना चुहावट भएर ७५३ वटा बीवाइडी गाडी भन्सार पास भएको भन्ने विषय बाहिर आएको छ। त्यसपछि सरकारले आफैं छानबिन समिति गठन गरेर कर्मचारीलाई दोष थोपर्न खोजेको देखिन्छ।”




प्रतिक्रिया राख्नुहोस्