विवादबीच रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको छ।
प्रदेश अधिवेशनको प्रक्रिया सुरु भएसँगै प्रतिनिधि छनोट र संगठनात्मक प्रक्रियाबारे केही नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाउँदै प्रश्न उठाएपछि निर्वाचन आयोगले अधिवेशन प्रक्रिया रोक्ने निर्णय गरेको हो।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज मंगलबार विज्ञप्ति जारी गर्दै मधेस प्रदेश अधिवेशनका सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगित गरिएको जानकारी दिनुभयो।
निर्वाचन आयोगका अनुसार पार्टीको विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ तथा दफा ४९ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै उक्त निर्णय गरिएको हो।
अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत ढङ्गले सम्पन्न गर्न आवश्यक तयारी तथा प्रक्रियागत विषयमा थप स्पष्टता आवश्यक देखिएकाले हाललाई सबै गतिविधि रोकिएको आयोगले जनाएको छ।
मधेस प्रदेश अधिवेशनको तयारीका क्रममा प्रतिनिधि छनोट प्रक्रिया, सदस्यता प्रमाणीकरण तथा संगठनात्मक संरचनासम्बन्धी विषयमा केही पक्षबाट असन्तुष्टि व्यक्त गरिएको थियो।
त्यसै सन्दर्भमा उत्पन्न विवाद र गुनासोहरूको सम्बोधन गर्दै अधिवेशनलाई थप व्यवस्थित र सर्वस्वीकार्य बनाउन आयोगले स्थगनको निर्णय गरेको बताइएको छ।
निर्णयसँगै प्रतिनिधि छनोट प्रक्रिया, निर्वाचन कार्यक्रम तथा कार्यतालिका, उम्मेदवारी दर्ता, चुनावी प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित अन्य सम्पूर्ण गतिविधि रोकिएका छन्।
मधेस प्रदेश अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिकाबारे केन्द्रीय निर्वाचन आयोगले पछि आधिकारिक जानकारी गराउने जनाएको छ।
आयोगले अर्को निर्देशन जारी नभएसम्म अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गरेको छ।
रास्वपाले हालसम्म विवादका विषयमा विस्तृत विवरण सार्वजनिक नगरे पनि अधिवेशन प्रक्रियालाई थप विश्वसनीय र विवादरहित बनाउन अस्थायी रूपमा कार्यक्रम स्थगन गरिएको बुझिएको छ।




प्रतिक्रिया राख्नुहोस्