राजनीति

भुटानी शरणार्थीका मागको उचित सम्बोधन गर्न सरकारसँग माग

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले निरन्तर उठाउँदै आएका विषयमा सरकारले कुनै सुनुवाइ नगरेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको छ।

बैठकमा विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई धारणा राख्न समय उपलब्ध गराउनुभएको थियो। सांसद हर्कराज राईले भुटानी शरणार्थीका समस्या र मागको उचित सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद ताहिर अली भाटले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै बढ्दो इन्धन मूल्यले आमउपभोक्तामाथि थप आर्थिक भार परेको बताउनुभयो।

सो अवसरमा सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्रीसमक्ष संसद्मा पटक–पटक उठाइएका राष्ट्रियताको विषय, सम्पत्ति छानबिनसम्बन्धी आयोगको प्रतिवेदन तथा मानवअधिकारसम्बन्धी प्रतिवेदन कार्यान्वयनका सवालमा कुनै ठोस पहल नभएको गुनासो गर्नुभयो।

सांसद लक्ष्मीप्रसाद पोखरेलले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक पहललाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले गत जेठ १७ गते व्यक्त गर्नुभएको भनिएको अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो।

त्यसैगरी, सांसद रमेशकुमार मल्लले प्रतिपक्षी दलले उठाएका प्रश्नको उचित सम्बोधन नहुने गरेको भन्दै दुःख व्यक्त गर्नुभयो।

उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने धारणा राख्दै लोकतन्त्र र संवैधानिक व्यवस्थालाई कमजोर पार्ने गतिविधिप्रति सचेत रहन आग्रह गर्नुभयो।

यसै गरी सांसद ऐन महरले संसद्को गरिमा कायम राख्नु सरकार र सांसद दुवैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.