नेपाल–स्पेन व्यापार सहकार्य र लगानी आकर्षित गर्न म्याड्रिडमा ‘बिजनेस फोरम’
नेपाल र स्पेनबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने उद्देश्यले स्पेनको राजधानी म्याड्रिडमा ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ आयोजना गरिएको छ।
फोरममा स्पेनी लगानीकर्ता, व्यवसायी तथा नेपाल सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
म्याड्रिडस्थित नेपाली दूतावासद्वारा सोमबार आयोजित उक्त फोरमको उद्देश्य स्पेनका लगानीकर्ता तथा व्यवसायी र नेपालका सरकारी तथा निजी क्षेत्रबीचको दूरी घटाई व्यापार तथा लगानीका अवसरहरू विस्तार गर्नु रहेको थियो।
कार्यक्रममा नेपाल र स्पेनका सरकारी अधिकारी, लगानीकर्ता तथा व्यावसायिक समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
फोरमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत पुरक अधिकारीले नेपाल र स्पेनबीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने तथा उच्च सम्भावना भएका क्षेत्रमा साझेदारी विस्तार गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उहाँले नैतिक रूपमा प्राप्त कच्चा पदार्थ र स्वदेशी प्रविधिमा आधारित पुस्तान्तरणीय नेपाली उद्योगहरूको समेत परिचय गराउनुभयो।
नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवीनराज शर्माले नेपाल–स्पेन वस्त्र व्यापारसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै स्पेनी बजारमा नेपाली वस्त्रजन्य उत्पादनको उच्च सम्भावना रहेको जानकारी दिनुभयो।
उहाँले स्पेनी उपभोक्तामाझ आकर्षण बढाउन सक्ने विभिन्न नेपाली वस्त्र तथा तयारी पोसाकका नमुना उत्पादनहरू पनि प्रस्तुत गर्नुभयो।
नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष गोविन्द घिमिरे तथा उपाध्यक्ष देवनन्द सरावगीले नेपाल–स्पेन व्यापारको इतिहास र वर्तमान संरचनाबारे जानकारी दिँदै च्याङ्ग्रा ऊन, हिमाली भेडाको ऊन, भाङ र सिस्नोजस्ता प्राकृतिक रेसाबाट उत्पादित नेपाली वस्त्र तथा गहनाका प्रतिस्पर्धात्मक विशेषताबारे प्रकाश पार्नुभयो।
उहाँहरूले हस्तनिर्मित चाँदीका गरगहना, जपमाला तथा परम्परागत आभूषणप्रति अन्तर्राष्ट्रिय विशिष्ट बजारमा बढ्दो आकर्षण रहेको उल्लेख गर्नुभयो।
नेपाल गार्मेन्ट सङ्घका अध्यक्ष पशुपति देव पाण्डेले कानुनी तथा नीतिगत सुधारका कारण नेपाली तयारी पोसाक उद्योगले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै दुवै देशका व्यावसायिक समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
त्यसैगरी, स्पेन उद्योग तथा वाणिज्य मण्डलका अन्तर्राष्ट्रिय सम्बन्ध उपनिर्देशक लुइस रोड्रिग्वेजले स्पेनको गहना तथा फेसन उद्योगको गतिशीलताबारे जानकारी दिँदै स्पेनी उपभोक्ताहरू विशिष्ट अन्तर्राष्ट्रिय उत्पादनप्रति बढ्दो रूपमा आकर्षित भइरहेको बताउनुभयो। व्यवसाय–व्यवसायबीचको साझेदारी विस्तार भए नेपाल–स्पेन व्यापारिक सम्बन्ध अझ सुदृढ हुने उहाँको विश्वास थियो।
प्रश्नोत्तर तथा ‘नेटवर्किङ’ सत्रसहित सम्पन्न फोरममा स्पेनका वस्त्र तथा गहना उद्योगका प्रतिनिधि, लगानी प्रवर्द्धन निकाय, सरकारी अधिकारी तथा स्पेनी सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्