राजनीति

प्रचण्ड–नेपाल–शेखर भेट : राजनीतिक संवाद पुनर्जीवित गर्ने प्रयास

असार १२ गते शुक्रबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा सहसंयोजक एवं पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस नेता डा. शेखर कोइरालासँग भेटवार्ता गर्नुभयो ।

विराटनगरस्थित कोइराला निवासमा भएको सो भेटमा उहाँहरूबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो ।

लामो समयसम्म नेपाली राजनीति नियन्त्रण गरेका परम्परागत दलहरू अहिले अभूतपूर्व दबाबमा छन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि लामो समय सत्ताको केन्द्रमा रहेका दलहरू जनअपेक्षा पूरा गर्न असफल भएको आरोप खेपिरहेका छन्।

यस्तो अवस्थामा जेनजी आन्दोलन र फागुन २१ को निर्वाचनपछि नयाँ राजनीतिक शक्तिहरूको उदय भएको छ भने पुराना दलहरूको जनाधार क्रमशः खस्कँदो अवस्थामा छ। पुराना दलका शीर्ष तहका नेताहरुबीच छलफल लगभग ठप्प रहेको अवस्थामा यो भेटले अनेक राजनीतिक सन्देश बोकेको देखिन्छ।

विशेषगरी नेपालको वाम आन्दोलन अहिले इतिहासकै कमजोर मोडमा पुगेको देखिन्छ। कहिले दुईतिहाइ बहुमतसम्म पुगेका कम्युनिस्ट शक्तिहरू अहिले विभाजित, अविश्वसनीय र नेतृत्व संकटमा छन्। अर्कोतर्फ, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवस्था पनि अपेक्षाकृत सुदृढ देखिँदैन।

यही सन्दर्भमा विगतमा नियमित संवाद र परामर्शमा रहने शीर्ष नेताहरूबीच पछिल्ला वर्षहरूमा भेटघाट र राजनीतिक संवाद पातलिँदै गएको थियो। आपसी अविश्वास, सत्ता समीकरणको निरन्तर फेरबदल र व्यक्तिगत राजनीतिक स्वार्थले नेताहरूबीचको सम्बन्धलाई औपचारिकतामा सीमित बनाएको थियो।

यस्तो अवस्थामा प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीचको भेटलाई राजनीतिक संवाद पुनर्जीवित गर्ने प्रयासका रूपमा पनि बुझ्न सकिन्छ।

वर्तमान सरकारले अघि बढाइरहेका केही गतिविधि, भ्रष्टाचार तथा सुशासनसम्बन्धी अनुसन्धान र बदलिँदो जनमतले परम्परागत दलका धेरै नेताहरूमा राजनीतिक असुरक्षाको भावना बढाएको विश्लेषण पनि छ।

यद्यपि, यो भेटले तत्काल कुनै नयाँ सत्ता समीकरण जन्माउने संकेत भने स्पष्ट रूपमा दिएको छैन। तर यसले कम्तीमा पनि परम्परागत दलहरू बदलिँदो राजनीतिक यथार्थप्रति सचेत हुन थालेका छन् भन्ने सन्देश दिएको छ।

कमजोर हुँदै गएको जनविश्वास पुनः आर्जन गर्न, लोकतान्त्रिक शक्तिहरूबीच संवाद बढाउन र भविष्यको राजनीतिक रणनीति तय गर्न यस्ता भेटघाटहरू आगामी दिनमा अझ बढ्नसक्ने सम्भावना भने देखिन्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.