कृषि

नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कपिङ च्याम्पियन सीप हुँदै

चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ नेपाली कफीको उत्पादन, गुणस्तर र बजार प्रवर्द्धनलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरामा ‘नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं राष्ट्रिय कफी कपिङ च्याम्पियन सीप’ हुने भएको छ ।

कफी खेती

नेपाल सरकारअन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा नेपाल कफी व्यवसायी महासङ्घ र केन्द्रीय कफी सहकारी सङ्घको सहकार्यमा यही असार २० गते पोखरा–५ डुम्रीबोटस्थित बोर्डको क्षेत्रीय कार्यालय परिसरमा बिहानदेखि प्रदर्शनी सुरु हुनेछ ।

बोर्डको क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीका अनुसार नेपालको कफी वृद्धिलाई बढावा दिने, नेपाली कफीको अन्तरराष्ट्रिय मान्यतालाई बलियो बनाउने र कफी उत्पादक क्षेत्रहरूमा आर्थिक विकास र सामाजिक उत्थानका लागि कार्यक्रमले सहयोग पुग्नेछ ।

“नेपालमा कफीखेती र कफी संस्कृतिप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै कफीको सम्पूर्ण मूल्य श्रृङ्खलाबारे एकै स्थानबाट जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा देशभरका कफी उत्पादक, किसान, व्यवसायी, सहकारी, प्रशोधनकर्ता, क्याफे सञ्चालक, सरोकारवाला तथा उपभोक्ताको सहभागिता रहनेछ”, पुरीले भन्नुभयो ।

पोखरा पछिल्लो समय कफीको प्रमुख केन्द्रका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उहाँले यस अभियानले नेपाली कफीको विशिष्ट पहिचान, गुणस्तर र स्वादलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय कफी ‘कपिङ च्याम्पियन सीप’ का विजेतालाई सम्मान गरिनुका साथै कफी नर्सरी तथा बगैँचा अवलोकन, उत्कृष्ट नेपाली कफीको निःशुल्क सार्वजनिक कपिङ, स्पेसियालिटी कफी ब्रुइङ प्रदर्शन, कफी बार उपकरण प्रदर्शनी, निःशुल्क कफी स्वाद परीक्षण, कफी प्रशोधन पहिचान प्रतियोगिता तथा बीउदेखि कपसम्मको सम्पूर्ण कफी मूल्य श्रृङ्खलाको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी कफीको गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया, विज्ञबाट प्राविधिक परामर्श तथा कफीसम्बन्धी मनोरञ्जनात्मक गतिविधिसमेत समावेश गरिएका छन् । कार्यक्रमबाट नेपाली कफीको उत्पादन, गुणस्तर र बजार विस्तार अभियानलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसका साथै देशमा कफीको क्षेत्रमा रहेको समस्या समाधान र यसमा रहेका नीतिगत समस्याहरूको गाँठो फुकाउनसमेत प्रदर्शनीले सहयोग पुग्ने बताइन्छ ।

कफी उत्पादन एवं खपतका हिसाबले गण्डकी प्रदेश पनि देशमा अग्र्रपङ्तीमा रहेको छ । गण्डकी प्रदेशका ११ जिल्लाहरूमध्ये नौ वटा जिल्लाहरूमा कफीखेती विस्तार भइ उत्पादन हुँदै आएको बोर्डले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा एक हजार ४५१ हेक्टर क्षेत्रफलमा गरिएको कफीखेतीबाट १५६ मेट्रिकटन ग्रीन विन उत्पादन भएको थियो । कफी खपतको हिसाबले हेर्ने हो भने बागमती प्रदेश पछाडि सबैभन्दा बढी कफी खपत हुने प्रदेश गण्डकी रहेको छ ।

प्रदेशको राजधानीसमेत रहेको पर्यटकीय सहर पोखरामा मात्रै एक हजार ५०० भन्दा बढी कफी क्याफेमार्फत नेपाली कफी बिक्री वितरण भइरहेको बोर्डका निमित्त प्रमुख पुरीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.